काठमाडौं । निर्माता छवी ओझा र नायिका शिल्पा पोखरेलको झगडा सहमतिमा टुंगिएको छ । बुधबार मात्रै नायिका पोखरेलले श्रीमान् छवी ओझाविरूद्ध घरेलु हिंसा गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिईन् । शिल्पाले खिदएको उजुरीको आधारमा प्रहरी कार्यालयमा भएको छलफलपछि विवाद टुंगिएको हो । पोखरेलले श्रीमानबाट असुरक्षित भएको भन्दै शान्ति सुरक्षा माग गरेर उजुरी दिएकी थिइन् ।
बिहिबार काठमाडौं प्रहरी परिसर, टेकुमा भएको दुवै पक्षको छलफलपछि पोखरेल र ओझाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । काठमाडौं प्रहरी परिसर, टेकुमा भएको छलफलमा पोखरेलको सुरक्षामा आँच नपुग्याउने गरी ओझाले लिखित सम्झौता गरेको डीएसपी होविन्द्र बोगटीले जानकारी गराए । छलफलका क्रममा ओझाले शिल्पासँग माफी समेत मागेका थिए । शिल्पा र छवीको विवाद मिलेसँगै प्रहरीमा परेको उजुरी पनि टुंगिएको छ ।
यसअघि शिल्पाले छवीसँग डिभोर्सको माग राखेको बताइए पनि छलफलमा उक्त विषय भने प्रवेश नै भएन । त्यो विषय उजुरीमा नभएको र व्यक्तिगत कुरा भएकाले छलफलै नभएको बताईएको छ ।
प्रहरी परिसरमै सञ्चारकर्मीसँग कुरा गर्दै छवि ओझाले शिल्पासित झगडा भएको स्वीकारे पनि कुटपिट भएको भने अस्वीकार गरे ।
यद्यपि, दुवै जनाबीच सहमति भए पनि शिल्पा छविसँग पहिलेझैँ सँगै बस्छिन्ब÷स्दिनन् भन्ने चाहिँ प्रष्ट भने भएको छैन ।
नायिका शिल्पा पोखरेल निर्माता छविराज ओझाको चौथो श्रीमती बनेर ओझा निवास भित्रिएकी थिइन् । शिल्पा र छविराजले २०७३ सालको दशैंमा गोप्य रुपमा बिहे गरेका थिए ।
लामो समय उनीहरुले आफ्नो बिबाहलाई लुकाए । तर, गत वर्ष निर्माता ओझाले आफूहरुले विवाह गरिसकेको स्वीकारेका थिए । तर, म्युजिक भिडियोमा मात्रै सिमित भएकी शिल्पालाई आजको अवस्थामा ल्याउने कामको श्रेय भने छवीलाई नै जान्छ । उनले चलचित्र ‘लज्जा’ मार्फत् शिल्पालाई सिने क्षेत्रमा डेब्यू गराएका हुन् ।