मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिहार डुबेपछि भारतीय दबाव बढ्यो, सप्तकोशी ब्यारेजका फेरी ३० ढोका बन्द



सुनसरी । सप्तकोशीमा पानीको बहाव बढ्दै गएपछि ५६ वटै ढोका खोलिए पनि भारतीय दबाव पछि फेरी ३० वटा ढोका बन्द गरिएको छ । पूर्वी पहाडी क्षेत्रमा निरन्तर वर्षा भएर सप्तकोशीमा अहिलेसम्मकै उच्च बहाव भइरहँदा पनि भारतीय दबावका कारण कोशी ब्यारेजका ढोकाहरु बन्द गरिएको हो ।
आइतबार बिहान लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले सबै ५६ वटै ढोका खोलिएकामा त्यसपछि भने भारतको बिहार डुबानमा परेको भन्दै ३० वटा ढोका बन्द गरिएको हो ।
फेरी नेपालतर्फ डुबान बढ्दै गएको छ । यसअघि ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले नदीमा पानी बढ्न थालेपछि एकपछि अर्को ढोका खोल्दै जाँदा आइतबार बिहान सबै ढोका खोलिएको बताएका थिए ।

नौ लाख क्यूसेक पानी बहने क्षमता रहेको ब्यारेजमा बिहान दुई लाख ९० हजार क्यूसेक पानी बगिरहेको थियो । शनिबार तीन लाख १८ हजार ६५० क्यूसेक पानी बगिरहेको थियो ।

यो वर्ष सप्तकोशीमा २४ हजार क्यूसेक पानीबाट अहिले बढ्दै सो क्षमतामा बगिरहेको छ । एक दशकअघि ब्यारेजदेखि माथि सिरान पश्चिम कुशहामा बाँध फुटेको थियो ।

बाँध फुट्दा नेपाल र भारतमा थुप्रै जनधनको क्षति भएकाले कोशी ब्यारेज र बाँधलाई सुरक्षित राख्न प्राविधिकहरुले विशेष सतर्कता अपनाए पनि भारतीय सरकारको दबाबमा ३० ढोका बन्द गरिएका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार पनि निरन्तर वर्षा हुने भएकाले सचेत रहन आग्रह गरेको छ । वर्षा जारी रहेकाले सप्तकोशीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले स्थानीय बासिन्दालाई सचेत गराएको छ ।

यसअघि सबै ढोका खोलेपछि भारतको बिहार पनि जलमग्न भएको थियो । बिहार डुबेसंगै सप्तकोशीका ढोका बन्द गर्न दबाब दिइएको थियो ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ६ : ४६ बजे