आज गुरु पुर्णिमा : गुरुहरु प्रती श्रदा, सम्मान ब्यक्त गरेर मनाइदै



काठ्माण्डौ-

आज असार शुक्ल पूर्णिमाको दिन देशभरी गुरु पूर्णिमा पर्वको मनाईदै छ । यो दिन महर्षि वेदव्यासको जन्म भएकोले आजको दिनलाई गुरु पुर्णिमाको रुपमा मनाउने गरिएको हो ।आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेदव्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।आजको पुर्णिमालाई लाई व्यास पूर्णिमा पनि भन्ने चलन छ ।

बिशेष गरी पूर्वीय संस्कृतिमा आजको दिन गुरुपूजाको विशेष महत्व रहेको छ। गुरुपूजाको दिन गुरुले दिएको आशीर्वाद अन्य दिनको आर्शीवादभन्दा विशेष मानिने भएकोले यस दिन गुरुआशीर्वादका लागि पनि टाढा टाढाबाट शिष्यहरु गुरुको समिपमा पुग्ने गर्दछन् । परलोक भईसकेका गुरुहरुलाई भने तस्वीरमा माल्यार्पण गरेर गुरु आराधना गर्ने प्रचलन छ।

‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ । अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ ।

यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भवः’ भनिन्छ । गुरु पूर्णिमाका अवसरमा आज विद्यालय एवम् विभिन्न संघसंस्थाले कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्दैछन् ।

प्रकाशित मिति : असार ३१, २०७६ मंगलबार  ४ : १८ बजे