काठमाडौं –
बिप्लब नेकपाका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ परेका छन् । लामालाई गएराति १ बजे काठमाडौंको उनलाई काँडाघारीबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
गत फागुन १० गते नख्खुको एनसेल कार्यालय र जेठ १२ गते काठमाडौंको घट्टेकुलो र सुकेधारामा भएको बम विस्फोटको योजनाकार पनि लामा नै रहेको भन्दै प्रहरीले खोजीको सूचीमा राखेको थियो ।
उनी २०६४ को संविधान सभा निर्वाचनमा काठमाडौं क्षेत्र नं ९ बाट उम्मेदवार भई झिनो मतले पराजित भएका थिए । लामो समय माओवादीको सांस्कृतिक विभागमा रहेर काम गरेका लामा गीतकार तथा संगीतकार समेत हुन् ।
माओवादी जनयुद्धको सुरुवातदेखि नै पार्टीमा सक्रिय लामा सो समय बम बनाउने क्रममा विस्फोट भई घाइते भएका थिए ।
विप्लवको उपत्यका ब्यूरोमा काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर, भक्तपुरसहित धादिङ, नुवाकोट र रसुवा समेत पर्छन् । यो ब्यूरोको जिम्मेवारी लामाको थियो ।








