नेकपा सप्तरीमा बिबादै बिबाद, असन्तुष्टहरुले नेकपा केन्द्रिय कार्यलयमा हाले उजुरि



राजविराज–

नेकपा सप्तरीमा चर्को विवाद सुरु भएको छ। योग्यता नै नपुगेका व्यक्तिलाई जिल्ला कमिटीमा ल्याइएको र पार्टीका लागि योगदान दिएकालाई पाखा लगाएको भन्दै नेता कार्यकर्ताबीच विवाद सुरु भएको हो।

जिल्ला कमिटी गठनप्रति तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र दुवैतर्फका नेताकार्यकर्ताहरु असन्तुष्ट देखिएका छन्। तत्कालीन माओवादी केन्द्रका असन्तुष्ट केही नेताकार्यकर्ताले आइतबार राजविराजमा पत्रकार सम्मेलन गरेरै असन्तुष्टि व्यक्ति गरे। कुल १ सय ६५ सदस्यीय कमिटीमा तत्कालीन नेकपा एमालेका तर्फबाट सचिवसहित ८४ र माओवादी केन्द्रका तर्फबाट अध्यक्षसहित ८१ सदस्य छन्।

पत्रकार सम्मेलनमा नेकपाका प्रदेश कमिटी सदस्यद्वय देवनाथ यादव र भागवत यादवले जिल्ला कमिटी गठन गर्दा सप्तरीका सिनियर नेता तथा जनयुद्धको क्रममा जेल, नेल र यातना भोगेकाहरुलाई पाखा लगाइएको आरोप लगाए।

भूमिगत कालदेखि पार्टीमा सक्रिय रहेका देवराम यादव, गोपाल गुप्ता, पवन यादव, उमेश मण्डल, ज्ञानेन्द्र घिमिरे, वलवहादुर महतो, सहिद पत्नि कविता ठाकुर, दानालाल चौधरी लगायतका महत्वपूर्ण नेताहरू कमिटीमा नल्याई पार्टीको सदस्य नै नभएका र नीति र सिद्धान्त नै नबुझेका माला कर्ण, राहुल मण्डलसहित एक दर्जनभन्दा बढीलाई कमिटीमा ल्याइएको उनीहरूको आरोप छ।

जिल्ला कमिटी पुनर्गठनका लागि प्रदेश इन्चार्ज प्रभु साह, सहइन्चार्ज विश्वनाथ साह तथा केन्द्रीय कमिटीमा समेत निवेदन दर्ता गराइएको उनीहरूले जानारी दिए।

प्रकाशित मिति : श्रावण १३, २०७६ सोमबार  १० : २८ बजे