जनकपुरधाम । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सरकारबाट बाहिरिएको छ। नेकपा संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै पार्टीबाट सरकारमा सहभागी चार मन्त्रीले राजीनामा दिएका छन्।
नेकपाका चार मन्त्रीले प्रदेश प्रमुख डा. सुरेन्द्र लाभसमक्ष राजीनामा बुझाएका हुन्। राजीनामा दिनेमा अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटनमन्त्री कनिष पटेल, गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहर कुशवाहा रहनुभएको छ।
गत असोज ३० गते नेकपा (एमाले) मधेस प्रदेश सरकारबाट बाहिरिएपछि सरकार अल्पमतमा परेको थियो। अल्पमतमा परेको सरकारले विश्वासको मत लिनुपर्ने समयसीमा नजिकिँदै गर्दा नेकपाका मन्त्रीहरूले पनि राजीनामा दिएका हुन्। मधेस प्रदेश सरकारले अबको आठ दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था छ।
राजीनामापछि निवर्तमान ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहर कुशवाहाले सरकारलाई राजनीतिक निकास दिन र नयाँ सरकार गठनका लागि सहज वातावरण बनाउन आफूहरूले पदबाट राजीनामा दिएको बताउनुभयो।
उहाँले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएर नभई पछिल्लो समय उत्पन्न राजनीतिक तथा अल्पमतको समस्यालाई समाधान गर्न राजीनामा दिएको स्पष्ट पार्नुभयो।
नयाँ सत्ता समीकरणमा नेकपा कुन दलसँग मिलेर अघि बढ्छ भन्ने विषयमा भने उहाँले तत्काल केही बताउन चाहनुभएन।
नेकपाका चार मन्त्रीले राजीनामा दिएसँगै मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूबीचको सत्ता समीकरण थप निर्णायक बनेको छ।










