पाकिस्तानी सैनिक विमान आबासिय क्षेत्रमा खस्दा १८ जनाको मृत्यु



रावलपिन्डी–

पाकिस्तानी सैनिक विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।शहर रावलपिन्डी शहर नजिकको आवासीय क्षेत्रमा मङ्गलबार बिहान दुर्घटना भएको हो ।

एक स्थानीय वासिन्दाका अनुसार मङ्गलबार बिहान २ बजे सो विमान दुर्घटनाग्रस्त भएको थियो । ठूलो आवाजका साथ भएको विस्फोटका कारण आफू निद्राबाट ब्युँझिएर घरबाहिर गएर हेर्दा आगलागी भइरहेको मोहमद सदिकले बताएका छन् ।सेनाको प्रमुख कार्यालयहरु रहेको रावलपिन्डी शहरको छिमेकमा रहेको एक गाउँमा सो विमान दुर्घटनाग्रस्त भएको थियो ।

सेनाको सूचना शाखाका अनुसार यो सैनिक विमान नियमित प्रशिक्षणमा रहेको थियो । उद्धारकर्मीहरूले आगलागी नियन्त्रणमा लिई घाइतेलाई स्थानीय अस्पतालमा पु¥याएका थिए ।सो दुर्घटनामा मारिएका १३ जना सर्वसधारण र पाँच चालक दलका सदस्यसहित १८ जनाको शव अस्पताल लगिएको उद्धार टोलीका प्रवक्ता फारोक बुटाले बताएका छन् ।

राजधानी इस्लामाबादनजिकै भएको यस दुर्घटनामा १२ सर्वसाधारण पनि घाइते भएका छन् । सबै शव नराम्ररी जलेकाले परिचय खुलाउन डिएनए परीक्षण गर्नु पर्ने अवस्था रहेको बुटाले जानकारी दिए ।

यस दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारजनप्रति पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गहिरो समवेदना प्रकट गरेका छन् ।

प्रकाशित मिति : श्रावण १४, २०७६ मंगलबार  १२ : ०० बजे