मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मान्छे किन यस्तो भयो ? कृष्ण मणि पराजुली



कबिता-

यौटा सिंगो मान्छे
किन यो सिंगो पृथ्वीलाई नै
मेरो मात्र पेवा ठान्छ
सायद अहंकार र घमण्ड
उसको साथि भै दिएको पनि हुन सक्छ ।

अरुको पनि त साझा पृथ्वी हो भन्ने
किन बुझ्न नसकेको यो मान्छे ?
अरुको देखेर के गर्नु
ईष्र्या गरेर के हुन्छ र
डाहा गरेर के पो हुन्छ र ?
धन सम्पत्ति भनेकात क्षणिक हुन्
आज छ , भोली नहुन सक्छ
त्यसैले महाकबि देवकोटाले भनेका छन्
हातका मैला सुनका थैला के गर्नु धनले ।

असत्य बिलय हुन सक्छ
सत्य चाहि अटल र अमर हुन्छ
हो, त्यसैले
अब तिमीले सत्यको बाटो लिनु पर्छ ।

आफ्नै कमाईमा बांच्न जान्नेले
फूल जस्तो बास्ना दिन सक्दछन्
फूल जस्तै कोमलता पनि बनि दिन सक्दछन्
हनुमानले जस्तो आफ्नो छाती चिरेर देखाउन पनि सक्छन्
बुद्धिमान मान्छेले सहि कुरा बोल्ने गर्छन्
तर, तिमी भने चलाख मान्छे जस्तो गरी
आफूलाई जोगाएर जे पनि बोल्न सक्छौ
जे पनि गर्न सक्छौ
अन्याय पनि गर्न सक्छ्यौ
हैरान पनि पार्न सक्छौ
रकम कलमको मामलामा हिसाब किताब गर्न
खुब पोख्त पनि छौ
हो, धेरै कुरामा तिमी पोख्त छौ ।

तिम्रो ध्यान सम्पत्तिमा मात्र केन्द्रीत भएको छ
यो अस्थीर मोहमा कति लिप्त हुन्छौ तिमी
त्यसैको लागि जीवन अर्पनु छैन
अरुलाई पनि बांच्न दिनु छ ।
तिमीले त्यसो गर्दा धरती माताको पनि मन दुख्ने छ
उनी सबैको आमा हुन्
तिम्री मात्र आमा होईनन् उनी
तिमी बिरामी हुंदा उनको मन कति दुख्छ
अरु बिरामी पर्दा पनि
तिम्रो जस्तै गरी दुखेको हुन्छ उनको मन
हो,
त्यसैले सबैकी आमालाई आफ्नो मात्र ठान्नु
तिम्रो लागि ठूलो भूल हुनेछ
सबै प्राणी जगतकी ती प्यारी धर्तीमाताको मनलाई
चित्त दुखाउनु छैन तिमीले ।

यो पृथ्वी मेरो मात्र हो भन्ने गर्दा
पृथ्वीले आंधी, बतास, तुफान पनि ल्याउन सक्नेछ
यहांत असंख्य स्थल चर पनि त बस्नु छ
सबैलाई निमिट्यान्न पारेर जिउनुको के पो अर्थ हुन्छ र ?
त्यसैले,
सर्बे भवन्तु सुखीन सर्बे सन्तु निरामया
सर्बे भद्राणी पश्यन्तु माकश्चित दुःख भाग्जन को
अर्थ पनि त तिमीले बुझ्नु छ ।

अझै तिमीले बुकर्टि वासिङ्गटनको
संघर्ष बाट धेरै कुरा सिक्नु छ
पm्ल्योरेन्स नाईटिन्गलको सेवा बाट
आफूलाई उत्प्रेरित गराउनु छ
महात्मा गांधीको सहनशीलता बाट
अझ धेरै पाठ सिक्नु छ
कुष्ठ रोगीको सेवामा जीवननै समर्पित गर्ने
अल्बानियाकी भिक्षुको सेवाको त
जति गुन गाए पनि कहिले भण्डार नरित्तिने तिर
तिमीले ध्यान दिनै पर्छ ।
सक्छौ भने कसैको भलाई गर
नसके अरुको मन दुखाउने काम नगरे मात्र पनि
तिमीले धेरै गरेको ठहरिने छ
आफू नांगिने गरी काम नगरे मात्र पनि
पिंधमा रहेका धेरैको कल्याण हुनेछ ।
त्यसैले,
तिमी हामी सबैले
आफैलाई उत्प्रेरित गराउनु छ
असल मार्गमा
असल मार्गमा ।

प्रकृतिले दिएका दुई हात खियाउनु पर्दो रहेछ
यो धर्तिमा पसीना बगाउनु पर्दो रहेछ
पाखुरीमा एक थोपा रगत भए सम्म
साहस र धैर्यता जगाई राख्नु पर्दो रहेछ
जीवन सार्थक बनाउनुको अर्थ आफु मात्र बन्नु होईन
अरुलाई पनि बनाउनु हो
खै, मान्छेले बुझ्न सकेको ?
प्रश्न अझै अनुत्तरीत भएको छ
मान्छे किन यस्तो भयो ?

(लमजुङ् जिल्लाको राईनास नगरपालीका – ७ मा जन्मनुभएका लेखक साहित्यकार कृष्ण मणि पराजुली नेपाल सरकारको अबकाश प्राप्त उप सचिब हुनुहुन्छ ।बिभिन्न समयमा पराजुलीका कृती र लेख रचनाहरु राष्ट्रीय सञ्चारमाध्यमहरुमा प्रकाशित भएका छन ।)

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ६ : ४८ बजे