बेनी-
प्राकृतिक चिकित्सालयको नामले विश्वभरि नै चर्चामा रहेको म्याग्दीको बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक तातोपानी कुण्ड म्याग्दी नदीको कटानका कारण जोखिममा परेको छ।
हरेक वर्ष वर्षात्को समयमा आउने खोलाको भेलबाढी र नदी कटानको जोखिममा तातोपानी कुण्ड पर्दै गएको हो। म्याग्दी सदरमुकाम बेनीबजारदेखि नौ किलोमिटर पश्चिम बेनी नगरपालिका–४, सिङ्गास्थित तातोपानी बजारमा तातोपानीको कुण्ड रहेको छ।
वर्षै पिच्छे असार महिनादेखि भदौसम्म म्याग्दीखोला उर्लेर आउने हुँदा कुण्डभन्दा बाहिर रहेका तातोपानीका दुईवटा मुहान पुरिने गरेका छन्। यस वर्ष पनि म्याग्दी नदीमा पानीको बहाव बढेपछि त्यसको असरले मुहान पुरिएको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ।
कुण्डभन्दा बाहिर रहेका दुईवटै तातोपानीका मुहान पुरिएपछि तातोपानी कुण्डमा स्नान गर्न जाने बिरामीले कुण्डभन्दा बाहिरका कुवामा नुहाउन पाएका छैनन् । अन्य समयमा तातोपानी कुण्डमा डुबुल्की मारेर बाहिर कुवा र धारामा गएर खुला ठाउँमा नुहाउने गरेका बिरामीलाई कुवा पुरिँदा नुहाउन समस्या परेको हो।
वर्षासँगै म्याग्दीखोला बढ्ने भएकाले त्यसको प्रत्यक्ष असर खोला नजिकै रहेका दुईवटै कुवामा परेको छ। वर्षा नहुँदा खोलामा बहाव घट्दै गएमा भने पुरिएको कुवा पनि विस्तारै देखिने गर्दछ ।
कुण्ड बाहिर रहेका कुवा र धारा पुरिएपछि तातोपानी कुण्ड व्यवस्थापन समितिले भने कुण्ड परिसरभित्रै बिरामीहरुका लागि नुहाउने व्यवस्था गरेको जानकारी दिएको छ।
प्रत्येक दिन बिहान ६ बजेदेखि ७ बजेसम्म ड्रममा कुण्डको तातोपानी भरेर बिरामीका लागि नुहाउने व्यवस्था मिलाइएको छ । महिलाका लागि तीन वटा र पुरुषका लागि दुई वटा छुट्टाछुट्टै ड्रम राखेर त्यसमा भरिएको पानीमा बिरामीले नुहाउन सक्नेछन्।
तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले म्याग्दी खोलाको किनारमा रहेका दुई वटा तातोपानीका कुवा वर्षेनी जोखिममा परेको हुँदा आवश्यक सुरक्षा सतर्कता अपनाइएको बताए।
उनले कुण्ड व्यवस्थापन समितिको तर्फदेखि भू–गर्भविद्समेत ल्याएर तातोपानीका कुवा देखाइए पनि त्यसको मूल स्रोत पहिचान नहुँदा संरक्षणको काम गर्न नसकिएको बताए।
तातोपानी कुण्डको संरक्षण, संवद्र्धन, व्यवस्थापन तथा प्रचारप्रसारका लागि कुण्डको तर्फदेखि आवश्यक पहल गर्दै आइरहेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष शाक्यको भनाइ छ।
गत वर्ष अविरल वर्षासँगै तातोपानी बजारको ढल व्यवस्थापन गर्ने क्रममा कुण्डमाथि थुपारिएको ढुङ्गा, गिटी र बालुवाका कारण वर्षाको पानी जम्मा हुँदा जमीन भासिएको थियो । तातोपानी कुण्डमा हाल दैनिक १०० देखि १५० जनासम्म बिरामीले स्नान गर्ने गर्दछन्।