घुसकाण्डका दोषी तत्कालिन नेकपा एमालेका पूर्वसांसद कार्की जेल चलान



काठमाडौं, १९ भदौ-

तत्कालिन नेकपा एमालेका पूर्व सांसद डीबी कार्की पक्राउ परेका छन् । प्रहरी निरीक्षक बनाउँछु भन्दै घुस खाएर भागेको आरोपमा पूर्व सांसद कार्की पक्राउ परेका हुन ।

उनलाई बिहीबार बिहान काठमाडौंको कलंकी आसपास क्षेत्रबाट सीआईबीको टोलीले पक्राउ गरेको हो । उनी नौ वर्ष पहिले घुससहित पक्राउ परेका थिए ।

लमजुङबाट तत्कालिन नेकपा एमालेका समानुपातिक सांसद कार्कीलाई सर्वोच्च अदालतले गत असारमा दोषी ठहर गरेको थियो । सर्वोच्चका न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलाशले असार १७ गते मंगलबार विशेष अदालतको फैसलालाई सदर गरेको थियो ।

कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आज बिहान पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पेश गरेको थियो ।

अदालतको आदेशले कार्कीलाई आजै डिल्लीबजार जेल चलान गरिएको ब्युरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए।

प्रकाशित मिति : भदौ १९, २०७६ बिहिबार  २ : ४९ बजे