काठमाडौँ–
नेपाली कांग्रेसले डेंगुको संक्रमण बढ्दै गएकाले संकटकाल घोषणा गर्न माग गरेको छ ।
राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले कतिजना मान्छे मरेपछि यसले महामारीको रुप लिन्छ ? ७७ जिल्लामध्ये ५६ जिल्लामा फैलिएको यो संक्रमण राष्ट्रिय महामारी हो कि होइन ? राष्ट्रिय विपत्ति मान्नु पर्छ कि पर्दैन ? स्वास्थ्यक्षेत्रमा यसलाई संकटकाल घोषणा गर्नुपर्छ कि पर्दैन ? भन्ने प्रश्न गर्दै सरकारको ध्यानाकार्षण गराए ।
डेंगु संक्रमण नियन्त्रणको सट्टा बढ्दै गएको र सर्वसाधरण आतंकित बनेको भन्दै तत्काल संकटकाल घोषणा गरि नियन्त्रणको लागि अभियान सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
तत्काल डेंगु संक्रमणबाट गम्भीर नबन्ने हो भने यसले महामारीको रुप लिने भन्दै उनले सरकारले राष्ट्रिय इर्मरजेन्सिको रुपमा लिनुपर्ने धारणा राखे ।
उपचारमा संलग्न चिकित्सकदेखि मन्त्रीसम्मलाई डेंगुको संक्रमण हँुदा पनि सरकार तथा सम्बन्धीत निकाय स्वास्थ्य मन्त्रालय जिम्मेवार बन्न नसकेको आरोप लगाए । उनले भने, ‘के अझै पनि सरकार कुम्भकर्ण निन्द्राबाट व्यूँझिन चाहदैन रु सरकारले सदनमा उपस्थित भएर डेंगुको बारेमा सदनलाई जानकारी गराओस् ।’उनले ३ सय ५० रुपैयाँमात्रै पर्ने डेंगु जाँच किटको निजी अस्पतालहरुले २ हजार ६ सय रुपैयाँसम्म लिने गरेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराए । चितवनमा अस्पतालहरुले डेंगु परीक्षण गर्न २ हजार ६ सय रुपैयाँसम्म लिने गरेको र त्यसमा स्थानीय प्रशासनले ‘१ हजारमा गरेनौ भने कारवाही गर्छौ’ भनेको उल्लेख गर्दै उनले सरकारले डेंगुको निशुल्क जाँचको व्यवस्था मिलाउनुपर्ने तर्क गरे ।
‘वास्तवमा यसको मुल्य ३ सय ५० रुपैयाँ पर्ने रहेछ । ३ सय ५० नै थप्दा पनि ७ सय भन्दा बढ्ता जान्छ भनेपछि सरकार नै १ हजार रुपैयाँको छुट दिन खोजिरहेको छ’ अधिकारीको भनाई छ । उनले डेंगु परीक्षणको वास्तविक लागत र परीक्षण सुविधा प्राप्त नभएका जिल्लामा सरकारले गरेको तयारीबारे सदनलाई जानकारी गराउन माग गरे ।साथै उनले राष्ट्रियसभाको अर्को बैठकमा स्वास्थ्य मन्त्रीलाई डेंगुको बारेमा आधिकारिक धारणा राख्नका लागि निर्देश गर्न पनि अध्यक्षको ध्यानाकर्षण गराए । बैठकमा सत्तारुढ दलकै सांसद कोमल ओलीले पनि डेंगु संक्रमण नियन्त्रणका लागि सरकार गम्भीर बन्न नसकेको टिप्पणी गरिन् । उनले केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर डेंगु संक्रमण तत्काल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइन् । डेंगु संक्रमणले महामारीको रुप लिईसकेको भन्दै ओलीले प्रभावकारी ढंगले प्रकोप नियन्त्रण गर्दै भविश्यमा आउन नदिन आवश्यक तयारी गर्न सरकारसँग माग गरिन् ।
बैशाखमा धरानमा देखिएको डेंगु संक्रमणबाट राजधानी काठमाडौंमा २ सहित ६ जनाको मृत्यु भइसकेको छ भने हजारौ संक्रमित भएका छन् । संक्रमण नियन्त्रण हुनुको सट्टा फैलिदै गएको छ ।








