काठमाडौँ –
पछिल्लो समय देशैभरी फैलडाईं गएको डेंगुको प्रकोप रोक्न सरकारले प्रभाबकारी कदम चाल्न नसकेकोमा सरकारको चौतर्फी आलोचना भइ रहदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने डेंगु रोग नियन्त्रणका लागि संकटकाल घोषणा गर्न आवश्वक नरहेको बताएको छ ।
डेंगुको महामारी नियन्त्रण बाहिर गएकोले संकटकाल घोषणा गरेर नियन्त्रण अभियान चलाउन संसदमा माग उठेका बेला स्वास्थ्य मन्त्रालयले आत्तिन पर्ने अवस्था नरहेको बताएको हो ।
मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले आम नागरिकमा अनावश्यक भय फैलाइएको जिकिर गरे ।
‘डेंगुको महामारीको अवस्था छैन, संकटकाल घोषणा गर्ने आवाज उठाएर जनतालाई त्रसित नपारौँ, श्रेष्ठले भने, ‘सामान्य अवस्था छ, यसको मतलव केही भएको छैन, केही भएको होइन भन्ने चाहिँ होइन ।’ उनले डेंगु रोग नियन्त्रणका लागि सरकारले सबै प्रयास गरिरहेको बताए ।
काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लामा डेंगुको संक्रमणले ६ जनाको मृत्यु भइसकेको छ भने हजारौँ संक्रमित भएका छन् । तराईका जिल्लामा मात्रै भेटिने डेंगुका बिरामी पहाडी जिल्ला हुँदै हिमाली जिल्ला मनाङमा समेत भेटिएपछि आम नागरिक थप त्रसित बनेका छन् ।
तर स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठले भूगोलका हिसाबले धेरै ठाउँमा डेंगु भेटिए पनि महामारीको अवस्था नरहेको बताए ।
प्रतिपक्षी कांग्रेस सांसदहरुले समेत सदनमा डेंगुको नियन्त्रणमा गम्भिर नभएकोमा सरकारको आलोचना गर्दै आएका छन ।










