काठमाडौं-
प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा नेपाल पुलिसले नेपाल एपीएफ क्लबलाई हराउदै फाइनलमा पुगेको छ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा आइतबार भएको सेमिफाइनलमा पुलिसले एपीएफमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै उपाधि नजिक पुगेको हो। अब पुलिसले उपाधिका लागि सोमबार त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ।
आर्मीले शनिबार गण्डकी प्रदेशलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो। शनिबारकै लागि तय भएको नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीचको दोस्रो सेमिफाइनल वर्षा र खराब प्रकाशका कारण स्थागित भएपछि आयोजकले आइतबार पुनः सुरुबाटै खेलाएको थियो। शनिबार पनि पुलिसले शुरुवाती दुई सेट जितेपनि तेस्रो सेट गुमाउन पुगेको थियो।
चौथो सेट खराव प्रकाशका कारण स्थगित हुन पुगेको थियो।पुलिसले सुरुवाती दुई सेट जितेर पनि दुई मख्य खेलाडी विनै कोर्टमा उत्रिएको एपीएफलाई पराजित गर्न पाँचौ सेटसम्म कुर्नुपरेको थियो। पुलिसले सुरुवाती दुई सेट २५–२१ र २५–२० ले आफ्नो पक्षमा पार्दै जितनजिक पुगेको थियो। तर, तेस्रो सेटमा एपीएफले उच्च प्रदर्शन गर्दै तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्दे खेलमा फर्कने संकेत दिएको थियो।










