सोम दियाली, सर्लाही-
सर्लाहीको हरिवन नगरपालिकाका प्रमुख मेयर गणेश प्रसाईले स्थानीय बिकासमा बालबालिकाको बिशेष र महत्वपूर्ण भुमिका रहने बताउनु भएको छ ।
बाल दिवसको अवसरमा हरिवन नगरपालिका महिला तथा बालबालिका शाखाले आयोजना गरेको “स्थानीय बिकासमा बालबालिकाको भुमिका“ बिषयक मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै मेयर प्रसाईले सो कुरा बताउनु भएको हो । पढे लेखेको बालबालिकाले घर, समाज र राष्ट्रलाई पनि बाल अवस्थामा नै ठुलो योगदान दिन सक्ने भन्दै मेयर प्रसाईले बालबालिकालाई कुनै पनि हातमा शिक्षाबाट बञ्चित गरिनु नहुने बताउनु भयो ।
उहाँले स्थानीय तहले बनाएका ऐन कानुनलाई स्विकार्दै त्यसको परिधिभित्र रहेर आत्मसात गर्न र परिवारलाई स्थानीय तहको बारेमा बालबालिकाले जानकारी गराउदा मात्र पनि बिकासको काममा नागरिकको भुमिका हुन जाने र त्यसको श्रेय बालबालिकालाई जाने मेयर प्रसाईको तर्क छ । यी विभिन्न कामका माध्यमबाट बालबालिकाको स्थानीय बिकासमा बिशेष भुमिका रहने मेयर प्रसाईको तर्क थियो ।
नगर भित्रका संस्थागत र सामुदायिक गरि ११ वटा बिधालयले कार्यक्रममा भाग लिएको कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने बिद्यार्थीहरुलाई क्रमश ४५००, ३०००, १५००, ६०० नगद, शिल मेडल र प्रमाणपत्र सहितको पुरस्कार प्रदान गरिएको थियो हरिवन नगर महिला तथा बालबालिका शाखाले जानकारी दिएको छ ।










