असोज १३, सर्लाही-
सर्लाहीको विष्णु गाउँपालिकाका अध्यक्ष जवाहार लाल यादवले सय वर्षमा हुन नसकेको विकास निर्माणको काम आफु निर्वाचित भए पछि गरेको दावी गरेका छन ।
सोमवार ढुकढुकी एफएमको सम्वाद कार्यक्रममा पत्रकार सोम दियालीसँग कुरा गर्दै अध्यक्ष यादवले आफुले विकास निर्माणमा फड्को मारेको देखेर केही वडा अध्यक्षहरुले भाँजो हालेको बताए । “मेरो विकास प्रतिको प्रतिवद्धता र लगाव देखेर उहाँहरुलाई असह्य भएको छ, त्यसैले कहिले के वहानामा कहिले के वहानामा उहाँहरुले मलाई असहयोग गरी रहनु भएको छ ।” गापा अध्यक्ष यादवले भने ,– “गाउँसभा र गाउँकार्यपालिकामा मेरो बहुमत छ, मैले उहाँहरुलाई सँगै लिएर जाने धेरै प्रयत्न गरें तर मान्नु भएको छैन, मेरो विकासको यात्रा उहाँहरुले रोक्न सक्नु हुन्न किनकी मलाई जनताको साथ छ” ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना गरेको भन्ने समाचारको खण्डन गर्दै अध्यक्ष यादवले यदि आफुले हिनामिना गरेको पुष्टी भए टुँडीखेलमा गएर आत्महत्या गर्न तयार रहेको समेतबताए । केही संचार माध्यमले वडाअध्यक्षहरुको मात्रै कुरा सुनेर एकतर्फी समाचार बाहिर ल्याएको प्रति दुःख लागेको भन्दै अध्यक्ष यादवले संचारमाध्यमले दुई तर्फी कुरा वाहिर ल्याउनु पर्ने उल्लेख गरे । “विभिन्न पत्रपत्रिकामा समाचार आएको थाहा पाएँ, जहाँ वडा अध्यक्षहरुको मात्रै भनाई उदृत गरिएको छ । यस विषयमा मलाई नसोधी त्यसरी समाचार वाहिर आउँदा मेरो चरित्र हत्या भएको महसुस गरेको छु । तर केही वडाअध्यक्षहरुको विरोधले मेरो विकासको यात्रा रोकिँदैन”अध्यक्ष यादवले भने ।
नेपाली काँग्रेसबाट गापा अध्यक्षमा निर्वाचित हुनु भएका यादवले असन्तुष्ट वडा अध्यक्षहरुले राजस्व समेत उठाएर आफैसँग राख्ने गरेको, विभिन्न उपभोक्ता समितिमा आफन्तलाई राख्ने गरेको र त्यसो गर्न नपाए पछि आफ्नो विरोध गरेको दावी गरे ।
गापा अध्यक्षले भ्रष्टाचार गरेकोले कार्वाही हुनु पर्ने माग गर्र्दै आईतवार रिपोर्टस क्लव काठमाण्डौंमा असन्तुष्ट वडा अध्यक्षहरुले पत्रकार सम्मेलन गरेका थिए ।










