काठमाडौं –
नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् ।
नेपाल राष्ट्रिय मगर सङ्घ प्रदेश नं ३ समितिले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले लोकतन्त्रको मेरुदण्ड नै प्रेस स्वतन्त्रता भएकाले यसको रक्षा र संरक्षणमा आफ्नो पार्टीले कुनै सम्झौता नगर्ने उल्लेख गरे ।सो अवसरमा सभापति देउवाले रेडियो नेपालको दिपायल कार्यालयमा कामबाट हटाईएका तीन जना पत्रकारलाई तत्काल पुनःबहाली गर्न मागसमेत गरे । फरक प्रसङ्गमा उनले नेपालका आदिवासी/जनजातिमध्ये मगर समुदायको जनसङ्ख्या सबैभन्दा बढी भएकाले सोही अनुसार काङ्ग्रेसले प्राथमिकतामा राखेको बताए ।
कार्यक्रममा काङ्ग्रेस उपसभापति विमलेन्द्र निधिले सत्तापक्ष दलकै निर्देशनमा आफ्नो पार्टीमाथि एकपछि अर्को आक्रमणका घट्ना भएको आरोप लगाउँदै घटनाका अपराधिलाई कारवाही नगरे काङ्ग्रेस चुप लागेर नबस्ने बताए ।
महामन्त्री डा. शशाङ्क कोइरालाले ठूलो सङ्घर्षले ल्याएको संविधानको वर्तमान सरकारले प्रभावकारी कार्यान्वयन गर्न नसकेको आरोप लगाउँदै संविधानअनुसार प्रदेश र स्थानीय तहलाई बजेट नदिएको जिकिर गरे । साथै उनले काङ्ग्रेस नेतत्वको सरकारले विगतमा शिक्षा, स्वास्थ्य, सञ्चार, पूर्वाधार विकास, यातायात, पर्यटनलगायत क्षेत्रमा महत्वपूर्ण काम गरेको दाबी गर्दै आगामी दिनमा कृषिको व्यवसायिकरणमा लाग्नुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दीपक गिरी, पूर्वराज्यमन्त्री उदयशम्शेर राणा, सिन्धुलीका पार्टी सभापति उज्वल बराल, मगर सङ्घका केन्दीय अध्यक्ष ओम थापा मगर, नेता मोहनप्रसाद बराललगायतले लोकतन्त्रको रक्षाका लागि काङ्ग्रेस सुदृढिकरण र एक ढिक्का हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।