काठमाडौं –
ओमानमा टि–ट्वान्टी सिरिजमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको छ ।
हङकङले दिएको १२६ रनको लक्ष्य नेपालले १९ ओभरको समाप्तीमा भेटाएको हो ।मध्यक्रमका ब्याट्सम्यान विनोद भण्डारीले अर्धशतक प्रहार गरेपछि नेपाले जित हात पारेको हो । भण्डारीले चार चौका र तीन छक्काको मदतमा ४८ बलमा नटआउट ५४ रन जोडे । आरिफ शेखले २४ र सोमपाल कामीले १३ रन जोडे । तर नेपालको सुरुवात भने कमजोर रह्यो ।
नेपालका लागि ओपनिङ गर्न आएका कप्तान पारस खड्का पहिलो बलमै आउट भएका थिए भने पवन सर्राफ १०, दिपेन्द्रसिंह ऐरी ६ र रोहितकुमार पौडेल ५ रनमा आउट भए । बलिङतर्फ हङकङका लागि काइल क्रिस्टी र नसरुल्लाह रानाले २–२ विकेट लिए ।
यस्तै बलिङतर्फ नेपालका लागि करन केसीले उत्कृष्ट बलिङ गरे । उनले हङकङका सुरुवाती तीन विकेट एकै ओभरमा लिएका थिए । करनले ४ ओभर बलिङ गर्दै ३६ रन खर्चिएर ४ विकेट हात पारे । यस्त्ै अविनास बोहराले १ विकेट लिएका थिए । नेपालले अर्को खेल भोलि नेदरल्याण्डसँग खेल्नेछ ।










