मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आगामी उपनिर्वाचनमा पुरुष भन्दा महिला मतदाता, धेरै



काठमाडौं –

निर्वाचन आयोगले मंसिर १४ गते हुने उपनिर्वाचनका ४ लाख ५४ हजार मतदाता रहेको जनाएको छ ।

आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीअनुसार उपनिर्वाचन हुने क्षेत्रमा कुल मतदाता सँख्या चार लाख चौवन्न हजार १ सय १४ रहेको छ ।जसमा महिला मतदाताको सँख्या दुई लाख तेत्तीस हजार ४ सय २ रहेको छ भने पुरुष मतदाता दुई लाख बीस हजार ७ सय १० छ । त्यस्तै अन्य लिङ्गी मतदाता २ जना रहेको आयोगले जनाएको छ ।

प्रतिनिधिसभा निर्वाचन हुने कास्की जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा एकहत्तर हजार ८ सय ७१ मतदाता रहेका छन् । प्रदेश सभा सदस्यको निर्वाचन हुने भक्तपुर, बाग्लुङ्ग र दाङ्गका सम्बन्धित निर्वाचन क्षेत्रमा क्रमशः पैँतालिस हजार १५ जना, छत्तिस हजार ९ सय २६ जना र छैहत्तर हजार १ सय ७२ जना मतदाता रहेका छन् ।प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्यको रिक्त पदका लागि मंसिर १४ गते उपनिर्वाचन सम्पन्न गर्ने गरी नेपाल सरकार र निर्वाचन आयोगबाट निर्वाचनको मिति तोकिएपश्चात् निर्वाचन व्यवस्थापनको तयारी अगाडि बढिरहेको आयोगले जनाएको छ ।

प्रतिनिधि सभा सदस्य एक, प्रदेश सभा सदस्य तीन, नगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र गाउँपालिका तथा नगरपालिका वडाअध्यक्ष ४३ गरी कुल ५२ पदका लागि निर्वाचन हुँदैछ ।आयोगले असोज १७ गते नै उपनिर्वाचन प्रयोजनका लागि मतदान केन्द्र समेत तोकेको छ । मतदान केन्द्र तोक्दा बढीमा एक हजार एकसय मतदाताका लागि एक मतदान केन्द्र रहने गरी तोकिएको छ । उपनिर्वाचन हुने ३७ जिल्लाका सम्बन्धित निर्वाचन क्षेत्रमा कुल २४७ स्थलमा ५३७ मतदान केन्द्र रहेका छन् ।

आठसय वा सो भन्दा बढी मतदाता रहेका मतदान केन्द्र ३३७ रहेका छन् भने आठ सयभन्दा कम मतदाता रहेका केन्द्र २०० रहेका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ११ : २० बजे