जनकपुर –
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले सिरहा जिल्लाका मालपोत कार्यालय निमित्त प्रमुख रामबाबु मण्डललाई सेवाग्राहीसँग पाँच लाख घुस लिँदालिँदै रंगेहात पक्राउ गरेको छ ।
सुकुम्बासीको जग्गा सम्बन्धी कागजात माग्न आएका सेवाग्राहीसँग मण्डलले घुस मागेपछि एक हप्ता अगाडि आयोगको बर्दिबास इकाइ कार्यालयमा उजुरी परेको थियो ।
सोही उजुरीको आधारमा खटेको आयोगको टोलीले शुक्रबार कार्यालयमै घुस लिने क्रममा मण्डललाई पक्राउ गरेको हो ।
निमित्त प्रमुख मण्डलले अदालतमा पेस गर्नुपर्ने फाइल पठाउनका लागि ५ लाख घुस माग्दै आएका थिए। आफूले फाइल नपठाए मुद्दा हार्ने धम्की दिँदै उनले सेवाग्राहीसँग रकमकाे बार्ग्रेनिङ गरेका थिए।
अदालतमा रहेको मुद्दा हार्ने भएपछि उनले रकम दिन तयार रहेको भन्दै अख्तियालाई सूचना दिएका थिए। सेवाग्राहीको सूचनापछि अख्तियारले स्टिंग अप्रेसनको योजना बनाएको थियो।
अख्तियारको कार्यालय बर्दिवासको टोलीले सेवाग्राहीलाई पाँच लाख रकम दिएर पठाएको थियो।
रकमसहित पछ्याउँदै सिराहा गएको अख्तिायरको टोलीले निमित्त प्रमुखलाई कार्यकक्षबाटै रकमसहित रङ्गेहात पक्राउ गरेको हो।










