मुख्यमन्त्री पोखरेलले गरे दाङको टरिगाउँ विमानस्थलको अनुगमन



तुलसीपुर, २१ मङ्सिर –

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले दाङको टरिगाउँ विमानस्थलको अनुगमन गर्नुभएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँस्थित उक्त विमानस्थलको आज अनुगमन गर्नुभएको हो ।

कुनै समय यात्रु अभावमा अवरुद्ध भए पनि पछिल्लो समय दैनिक दुई उडान थालेकाले उक्त विमानस्थलको धावनमार्ग विस्तारको अवस्थाका बारेमा उहाँले अनुगमन गर्नुभएको हो ।अहिले धावनमार्ग सानो हुँदा साना जहाज मात्रै आउने गरेकाले अब ठूला जहाज ल्याउनका लागि धावनमार्ग विस्तार गर्ने समेत प्रतिबद्धता जनाउनुभयो । “अहिले धावनमार्ग सानो छ, ठूला जहाज आउन सकेको अवस्था छैन”, उहाँले भन्नुभयो, “अब यसलाई विस्तार गरी ठूला जहाज ल्याउन आवश्यक छ ।” उहाँले धावनमार्ग विस्तारका लागि केन्द्रीय सरकारले बजेटमा समेटेकाले अहिले ७५० मिटर रहेको उक्त धावनमार्गलाई एक हजार २०० मिटर बनाउने समेत बताउनुभयो ।

स्थानीय सरकारले नियमित हवाई सेवा शुरु गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै उहाँले अब प्रदेश र केन्द्रीय सरकारले नियमित हवाई सेवा शुरु गर्ने गरी कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

साथै नियमित हवाई सेवालाई थप सहज बनाउनका लागि इन्धन डिपो स्थापना गर्नसमेत पहल थाल्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : मंसिर २२, २०७६ आईतबार  ११ : ३८ बजे