रौतहटमा प्रहरी र भारतीय आपराधिक समूहबीच गोली हानाहान,एकजना घाइते



प्रहरी र  एक भारतीय आपराधिक समूहबीच रौतहटमा गोली हानाहान भएको छ । घटनामा  १ व्यक्ति गोली लागेर घाइते भएका छन् ।घटनामा प्रहरीको गोली लागेर आपराधिक समूहका २० वर्षीय चाँद अली घाइते भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको रौतहट प्रहरीले जनाएको छ।

रौतहटको इशनाथ नगरपालिका–१ स्थित बकैया नदीको बाँधनजिकै गएराति १२ः३० बजे प्रहरी र आपराधिक समूहबीच गोली हानाहान भएको हो । आपराधिक समूह भारत हुँदै नेपाल प्रवेश गर्न लागेको सूचना पाएपछि प्रहरी टोली नेपाल–भारत सिमानामा पुगेको थियो । प्रहरीका अनुसार, मोटरसाइकलमा आएका ३ जनालाई प्रहरीले रोक्न खोजेपछि गस्ती टोलीमाथि फायरिङ भएको थियो । यही क्रममा आत्मरक्षाका लागि गोली चलाउँदा चाँद घाइते भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।

घाइते चाँदको दाहिने घुँडामुनि गोली लागेको छ । घाइते चाँदको हाल गौरस्थित अस्पतालमा उपचार भइरहेको छ ।

आपराधिक  समूहका अन्य २ भने भारततर्फ भागेका छन् । घटनास्थलबाट आपराधिक समूहले छाडेको १ थान कटुवा पेस्तोल, खाली खोका १ थान र कटुवामा लोड भएको १ थान गोली प्रहरीले बरामद गरेको छ ।

 

प्रकाशित मिति : माघ १५, २०७६ बुधबार  ६ : ३६ बजे