राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपिठ उग्रतारा भगवतीको दर्शन गर्नु भएको छ । सुदूरपश्चिम प्रदेशको भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले शुक्रवार डडेल्धुराको अमरगढी नगरपालिका– ८ मा रहेको प्रसिद्ध उग्रतारा भगवतीको मन्दिरको दर्शन गर्नु भएको हो ।
भ्रमणका क्रममा डडेल्धुरा पुग्नु भएका राष्ट्रपति भण्डारीले सुदुरपश्चिम प्रदेश देशकै दाईने हात र दाईने आँखा भएको बताउनु भएको छ । सुदुरपश्चिम प्रदेश भित्र रहेको संस्कृति अन्तराष्ट्रिय स्तरमै नमुना रहेकाले पर्यटन रहेकाले यीनिहरुको प्रचार प्रसार गर्नका लागि तिनवटै सरकारले गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो । ‘सुदुरपश्चिममा पर्यटन क्षेत्रको प्रचुर सम्भावना रहेको भएपनि विविधि कारणले सोचे अनुसारको पर्यटक आउन नसक्दा यस क्षेत्रमा पर्यटन आउन सकेका छैनन् ।,’उहाले भन्नु भयो । ‘अवको सरकारले सुदुरपश्चिमको विकासका लागि काम गर्ने उहाले वताउँनु भयो । ’
उग्रतारा मन्दीर परिसरमा कलश सहितका विद्यार्थी, हातहातमा नेपालको झण्डा बोकेका कर्मचारीहरु सहित पञ्चेवाजाले राष्ट्रपतिको सम्मान एवम् स्वागत गरेका छन् । कार्यक्रममा जनप्रतिनिधि, मन्दिरका पुजारी, धामी, भरणिया, लगायत उग्रतारमा रहेको वेदविद्याश्रमा अध्ययनरत बटुक लगायत उग्रतारा क्षेत्र विकास समिति पदाधीकारी, पूर्व पदाधिकारीहरूले स्वागत गरेका छन् ।
उग्रतारा वेदविद्याश्रममा अध्ययनरत बटुकहरुले स्वागत स्वरूप स्वस्ती वाचन समेत गरेका थिए । राष्ट्रपति भण्डारीलाई अमरगढी नगरपालिकाले नागरिक अभिनन्दन गरेको छ भने उग्रतारा क्षेत्र विकास समितिले मायाको चिनो प्रदान गरेको छ ।
राष्ट्रपति भण्डारी डडेल्धुरा भ्रमण पश्चात आज नै कञ्चनपुरमा हुने कार्यक्रममा सहभागि हुनु भएको छ ।