कोरोना संक्रमणको आशंकामा टेकु अस्पतालको आइसोलेसनमा थप दुई जना भर्ना



कोरोना भाइरस संक्रमणको आशंकामा  फ्रान्सबाट आएका र युएईबाट आएका  दुई जनालाई बुधबार टेकु अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।

ज्वरो आएपछि त्रिभुवन विमानस्थलस्थित हेल्थ डेस्कले टेकुको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल पठाएको हो ।

उनीहरुलाई आइसोलेसन वार्डमा भर्ना गरिएको र नमुना परीक्षणका लागि पठाइएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले बताए ।

यसअघि मंगलबार अस्पतालमा ४ जना आइसोलेसन वार्डमा राखिएको थियो । उनीहरुको स्वास्थ्य जाँचको नतिजा आइसकेको छैन ।

मंगलबार र बुधबार भर्ना भएका बिरामीको स्वास्थ्य परीक्षणको नतिजा बिहीबार आउनेछ ।

प्रकाशित मिति : फाल्गुन २१, २०७६ बुधबार  ३ : ०३ बजे