केएमसीमा मस्तिष्कको जटिल ‘एभीएम’को विना चिरफार सफल उपचार



काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) ले ६७ वर्षको उमेरमा मस्तिष्कको रक्तनली फुटेका एक बिरामीको न्युरोइन्टरभेन्सन प्रविधिमार्फत विनाचिरफार सफल उपचार गरेको छ ।

कलेजकाअनुसार ६७ वर्षको उमेरमा ‘ब्रेन एभीएम’ (आर्टेरियोभेनस मालफर्मेसन) फुटेको बिरामीको यस प्रविधिबाट सफल उपचार भएको यो नेपालकै पहिलो घटना हो ।

पहिलेदेखि नै कलेजोको दीर्घकालीन रोगबाट पीडित ६७ वर्षीय हरिप्रसाद कँडेल अचानक बेहोस भएपछि उनलाई उपचारका लागि केएमसीको आकस्मिक कक्षमा पुर्याइएको थियो ।

अस्पतालमा गरिएको सीटी स्क्यानमा उनको मस्तिष्कको असामान्य स्थानमा ठूलो मात्रामा रक्तस्राव (हेमाटोमा) देखिएको थियो ।

न्युरोइन्टरभेन्सन विशेषज्ञ डा. अरुण पौडेलको नेतृत्वमा गरिएको परीक्षणबाट मस्तिष्कमा रगत पुर्‍याउने धमनी र फर्काउने शिराबीच जन्मजात बनेको असामान्य रक्तनलीको जालो (एभीएम) फुटेर रक्तस्राव भएको पुष्टि भएको अस्पतालले जनाएको छ । उपचारमा कलेजो रोग विशेषज्ञ डा. सागर पौडेल सहितको टोली पनि संलग्न थियो । चिकित्सकहरूका अनुसार एभीएम एक दुर्लभ जन्मजात विकृति हो, जुन प्रायः युवावस्थामै देखिने वा फुट्ने गर्छ । 

६७ वर्षको उमेरमा यस्तो समस्या देखिनु र फुट्नु अत्यन्त दुर्लभ तथा उच्च जोखिमपूर्ण अवस्था मानिन्छ । बिरामीको जटिल अवस्थालाई मध्यनजर गर्दै चिकित्सकहरूले परम्परागत टाउको खोल्ने शल्यक्रियाको सट्टा न्युरोइन्टरभेन्सन (एन्डोभास्कुलर) प्रविधि अपनाएका थिए । 

यस क्रममा तिघ्राको रक्तनलीबाट सानो क्याथेटर मस्तिष्कसम्म पुर्‍याई स्टेन्ट र बेलुनको सहायताले फुटेको एभीएमलाई सुरक्षित रूपमा बन्द गरिएको थियो । उपचारपछि बिरामीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : असार ३२, २०८३ बिहीबार  १ : ११ बजे