नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाल र बनारसको बहुआयामिक सम्बन्धले समग्र नेपाल भारतको सम्बन्धलाई उचाई प्रदान गरेको बताएका छन् । नेपाल अध्ययन केन्द्र तथा काशी हिन्दु विश्वविद्यालय र नेपाल विद्यार्थी संघ भारतको आयोजनामा नेपालको प्रजातन्त्र स्थापनामा काशी क्षेत्रले खेलेको भूमिका शीर्षकमा अन्तर्राष्ट्रीय गोष्ठीलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले सो कुरा बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि डा. कोइरालाले आफ्नो बाल्यकालदेखि विश्वविद्यालयसम्मको जीवन वाराणसी ९बनारस० सँगको भावनात्मक सम्बन्धका बारेमा चर्चा गरेका थिए । उनले नेपालमा तत्कालीन जहाँनिया राणा शासनको अन्त्य र पञ्चायत विरुद्धका संघर्षका दिनहरुमा काशी क्षेत्रले निकै ठूलो योगदान गरेको बताए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं सांसद डा मिनेन्द्र रिजालले दक्षिण एसियामा प्रजातन्त्रको अवस्था र नेपालको सन्दर्भ भन्ने शीर्षकमा आफ्नो भनाइ राखेका थिए । त्यस्तै केन्द्रीय सदस्य दीपक गिरीले नेपाल र बनारसका बहुआयामिक सम्बन्धहरुको बारेमा चर्चा गरे । अर्का केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले प्रजातन्त्र स्थापनाले सामाजिक रुपान्तरणमा पु¥याएको योगदानबारे धारणा राखे । कांग्रेस युवा नेता, पूर्वअर्थराज्यमन्त्री उदय शमशेर राणाले नेपालको परिप्रेक्ष्यमा आर्थिक प्रजातन्त्रको अवस्थाका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा अध्यक्षता गरेका भारतका प्रसिद्ध समाजवादी चिन्तक तथा जय प्रकाश नारायण विश्वविद्यालयका पूर्व उपकुलपति प्रोफेसर हरिकेश सिंहले बीपी कोइरालाले नेपालमा प्रजातन्त्र स्थापना गर्न अत्यन्तै ठूलो भूमिका निर्वाह गरेको बताए । बीपीको नाममा काशी हिन्दु विश्वविद्यालयमा अनुसन्धान केन्द्र स्थापना गरी अनुसन्धानको कामलाई अगाडि बढाउनुपर्ने बताए ।
कार्यक्रममा भारतको राज्य सभाका पूर्व सांसद आनन्द भास्कर रापुलु, बनारस हिन्दु युनिभर्सिटीका डिन एम के सिंह, विभिन्न विभागका संकाय प्रमुखहरु, विभिन्न पार्टीका नेताहरु, विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरु, विश्वविद्यालयका विद्यार्थीहरु गरी करिब ३ सय सहभागी थिए । कार्यक्रमको संयोजन नेपाल अध्ययन केन्द्र, काशी हिन्दु विश्वविद्यालयका संयोजक प्रोफेसर बीबी सिंह र नेपाल विद्यार्थी संघ भारतका महामन्त्री सूर्य न्यौपानेले गरेका थिए ।