काठमाडौं । नेपालमा पश्चिमी वायुको प्रभावले केही स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरी र हिमपात समेत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार विहान जारी गरेको पूर्वानुमानका अनुसार पश्चिमी र मध्य क्षेत्रमा सामान्य बदली र बाँकी क्षेत्रमा आंशिक बदली भएको छ ।
यसैगरी, दिउँसो देशभरी नै सामान्य बदली हुनेछ । पश्चिमी तथा मध्य भू-भागका केही स्थानहरूमा र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग तथा हावाहुरी सहित बर्षाको सम्भावना रहेको छ । साथै देशको अधिकांश उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, पूर्वानुमानका अनुसार राति भने देशभर नै सामान्यदेखि पूर्ण बदली रहनेछ।
यससँगै पश्चिमी भू-भाग लगायत मध्यका धेरै स्थानहरूमा र पूर्वी भू-भागका केही स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।










