विदेशबाट नेपाल आएकाहरुलाई कोरोना भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल भर्ना गरिएका तीन जनामा संक्रमण नभएको पाइएको अस्पतालाले जनाएको छ । दुई जनाको भने रिपोर्ट आउन बाँकी रहेको पनि अस्पतालाले जनाएको छ ।
तीन जना सोमबार र दुई जना मंगलबार साँझ अस्पताल भर्ना भएका थिए ।उनीहरु मध्ये चार जनालाई आइसोलेटेड बेडमा राखिएको थियो भने एक जनामा निमोनियाँ पनि देखिएकाले आईसीयूमा भर्ना गरिएको थियो । तीन जनाको रिपोर्ट नेगेटिभ आएको र उनीहरुलाई डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पतालका निर्देशक डा .सागरराज भण्डारीले बताए ।आइसियूमा रहेका एक ब्यक्तिको अवस्थामा राम्रो सुधार आएको भन्दै उनले आजै आइसियूबाट बाहिर निकाल्ने तयारी गरेको बताए।उनले सबैको आज बेलुकासम्म परीक्षणको नतिजा आइसक्ने जनाए।
टेकु अस्पतालमा पाँच वटा मात्र आइसोलेसन बेड रहेकोमा सबै भरिएका छन्। यो बेला थप शंकास्पद बिरामी आए पाटन अस्पतालमा पठाइने अस्पतालले जनाएको छ ।नेपालमा हाल कसैमा पनि कोरोनाको सङ्क्रमण पुष्टी नभएको पनि अस्पतालले जनाएको छ ।










