नेपालमा अहिलेसम्म कूल १ हजार ६० जनाको कोरोना भाइरस परीक्षण सम्पन्न भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोनाबारे पछिल्लो जानकारी दिन गरिने नियमित सन्देशमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सङ्क्रमणको सम्भाबना भएकाहरुको खोजी कार्य जारी राखिएको जानकारी दिए ।
अहिलेसम्म टेकुमा १० जना र प्रदेशमा गरी कूल ८७ जना सम्भावित विरामीलाई आइसोलेसनमा राखिएको देवकोटाले जानकारी दिए ।
सरकारले हरेक प्रदेशमा १३ सयदेखि २५ सयको संख्यामा पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट पिपिइ मौज्दात रहेको जानकारी दिएको छ । कोरोनाको लक्षण देखिएका वा संक्रमण भएकालाई उपचार गर्दा चिकित्सकले प्रयोग गर्ने सबै सामग्री पर्याप्त रहेको पनि प्रवक्ता देवकोटाले बताए ।
कोरोनाको सम्मावित जोखिम कम गर्न सर्वसाधारणका लागि खुला गरिएको कल सेन्टरको उपयोग प्रभावकारी भएको पनि उनले दाबी गरे । यद्यपी हजारौँ कल आउने भएकाले सबैको गुनासो सुन्न नसकिएको उनले बताए ।
कोरोना परीक्षणका लागि पोखरामा पनि प्रयोगशाला स्थापना भएको ,त्यसैगरी जनकुपर, धनगढी, बुटवल र सुर्खेतमा मेसिन जाने क्रममा रहेको छ भने धरानमा यसअघि नै परीक्षण सुरु भइसकेको देवकोटाले जानकारी दिए ।
देवकोटाले जोरो आउनासाथ कोरोना भयो भनेर नडराउन आग्रह गरे । त्यसैगरी निजी अस्पताललाई कुनै पनि विरामीको उपचार व्यवस्था राम्रोसँग गर्न पनि उनले आग्रह गरेका छन् ।










