जाजरकोट । “केही हुन्न, आफ्नै हात त हो नि, नधोए के हुन्छ ? केही चलाएको छैन भनेर पन्छिनेहरु आजभोलि कतैबाट आउनेबित्तिकै वा र खाना खानुअघि साबुन पानी खोज्न बिर्सँदैनन् ।”
आजभोलि हातखुट्टा नधोई खाना खाने र घरभित्र जाने व्यवहार पूर्णरूपमा बन्द भएको छ । कोरोना भाइरसको त्रासका कारणे सबै ठाउँमा सरसफाइ पहिलो प्राथमिकता हुँदै आएको छ । खानेकुरा पाउनासाथ हात नधोई हात्तपत्त खानेहरुलाई घरका अन्य सदस्यले हात नधोइ खाएमा छुन र नजिक आएर कुरा गर्न समेत नदिएपछि हात धुनुपर्ने नैतिक दबाब पर्न थालेको छ ।
अहिले जाजरकोट, डोल्पा र रुकुमपश्चिमका सबै ठाउँमा सरसफाइप्रति जागरण नै पैदा भएको छ । गाउँगाउँमा प्रहरी र स्थानीय सरकारको कोरोनाविरोधी गतिविधि व्यापकरूपमा प्रस्तुत भएको देखिन्छ । सबै उमेर समूहका सर्वसाधारण कोरोनाबाट जोगिन रेडियो, टेलिभिजन र अनलाइनमा आएका सन्देश र समाचारहरु प्राथमिकतामा दिन थालेका छन् ।
जाजरकोटका गाउँगाउँमा पानीको अभाव देखाएर हातखुट्टा साबुनपानीले सफा गर्न हिच्किचाउनेहरु आजभोलि सफा भएर मात्र घरभित्र आउने बानीमा रुपान्तरित भएका छन् । जाजरकोटको नलगाड नगरपालिका–९ का तुले कामीले भन्नुभयो, “हातखुट्टा नधोई घरभित्र आए साना छोराछोरीले कोरोना लाग्छ भनेर रोइकराइ गरेर नजिकसमेत आउँदैनन्, त्यसैले पनि सरससफाइ अनिवार्यजस्तै भएको छ ।”
नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले सरसफाइप्रति ध्यान तान्न सबै ठाउँमा साबुन र मास्क वितरणको काम सम्पन्न भइसकेको जानकारी दिनुभयो ।
डोल्पाको ठुलीभेरी नगरपालिकाका सूचना अधिकारी दिलु केसीले कोरोना भाइरसबाट जोगिन र जोगाउन गाउँगाउँमा नगरपालिका र प्रहरीको सक्रियामा जनचेतना फैलाएसँगै अधिकांश स्थानीयवासी हात हुने अनुशासनमा बाँधिएको बताउनुभयो ।








