काठमाडौं तिहार सुरु भएसँगै राजधानी काठमाडौंका फूल तथा माला पसलहरूमा किनमेल गर्नेहरूको चहलपहल बढेको छ ।
तिहारमा विशेषगरी दिदीबहिनीले दाजुभाइलाई भाइटीकामा लगाइदिने माला तथा घर सजावटका लागि आवश्यक सयपत्री, गोदावरी मखमलीलगायतका फूल किन्ने उपभोक्ताहरूको बजारमा चहलपहल बढेको हो ।
तिहारलाई फूल तथा मालाको पर्वका रूपमा समेत लिईन्छ । तिहारमा फूलको माला लगाएर घरको झ्याल, ढोका, दियोघर, कलश लयायतको सजावट गर्ने भएकोले बजारमा फूलको माग समेत उच्च हुने गरेको छ ।
हाल बजारमा घर, कार्यालय तथा विभिन्न व्यापारिक प्रतिष्ठान सजाउन र भाइटीकाका लागि माला खरिद गर्न उपभोक्ताहरू व्यस्त छन् ।
काठमाडौं महानगरपालिकाले व्यवसायी र उपभोक्तालाई सहजताको लागी फूल तथा माला बिक्रीका लागि स्थान समेत तोकिदिएको छ ।










