रुपन्देही । पश्चिम नवलपरासीको बर्दघाटका एक जना ७८ वर्षीय वृद्धमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) रिपोर्ट पोजेटिभ देखिएको छ । प्रदेश ५ मा र्यापिड टेस्टमा कोरोना संक्रमण पोजेटिभ आएको यो पहिलो पटक हो ।
बर्दघाट नगरपालिका–४ का ती ७८ वर्षीय पुरुषको र्यापिड टेस्ट चिसापानी सामुदायिक अस्पतालमा गरिएको थियो । दुई पटकसम्म टेस्ट गर्दा पोजेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए ।
हाल उनलाई जिल्ला पृथ्वी चन्द्र अस्पताल परासीमा भर्ना गरेर चिकित्सकहरुको निगरानीमा राखिएको छ ।
उनी लामो समयदेखि घरमै बस्दै आएका थिए । उनी एक वर्ष अगाडि अमेरिकाबाट फर्किएका थिए । छातिमा समस्या आएपछि जाँच गराउन चिसापानी अस्पताल पुगेका थिए । उनीसँगै उनका परिवारका सबै सदस्यहरुको र्यापिड टेष्ट गर्दा अन्यको रिपोर्ट नेगेटिभ आएको थियो ।








