काठमाडौं । कोरोना भाइरसबाट विश्वभर ७३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विश्वभर ७३ नेपालीको मृत्यु भएको जनाएको छ ।
एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार कोरोना भाइरसबाट सवैभन्दा धेरै बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा ८, साउथ इष्टमा ११, साउथ वेष्टमा ३, संयुक्त राज्य अमेरिकामा १५, युएइमा ५, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १ र नेदरल्याण्डमा १ गरी ७३ जनाको मृत्यु भएको हो ।
यस्तै, नेपालबाहेक विश्वभर ५ हजार २ सय ४७ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये १५ सय ७० जना उपचारपछि निको भएको अनुमान एनआरएनएले गरेको छ ।
एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सापकोटाका अनुसार मध्यपूर्वका केही देशहरुमा कोरोना भाइरस संक्रमणका कारण प्रभावित हुनेको संख्या झनै बढिरहेको छ । कतारसहित केही मध्यपूर्वका देशले २ हजार ३ सय नेपाली श्रमिकहरुमा कोरोना संक्रमण भएको तथ्यांक सार्वजनिक गरेका छन् ।
विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडाअनुसार २७ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित छन् ।
अध्यक्ष पन्तले संघको स्वास्थ्य समितिले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले आफूलाई अझ दुःखी बनाएको बताउँदै सबै गैरआवासीय नेपालीहरुलाई कोरोना भाइरसको महामारीविरुद्ध एकजुट भएर लड्न अपिल गरेका छन् । साथै, विभिन्न देशका सरकारी निकायहरुले जारी गरेका स्वास्थ्य नियमलाई कडाइका साथ पालना गर्न आग्रह गरेका छन् ।
स्वास्थ्य समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत तीन दर्जन नेपाली चिकित्सक, नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतवार विदेशमा रहेका नेपालीहरुको कोरोना संक्रमणको अनुमानित तथ्यांक सार्वजनिक गर्दै आएको छ ।








