गड्डाचौकी नाकाबाट अलपत्र नेपालीको उद्धार गर्ने निर्णय



कञ्चनपुरको स्थानीय प्रशासनले आज बिहानदेखि यहाँको गड्डाचौकी नाकाबाट भारतीय बजारमा अलपत्र रहेका नेपालीको उद्धार गर्ने निर्णय गरेको छ । आइतबार जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका अन्य नाका पूर्णरूपमा बन्द गरी गड्डाचौकीबाट स्वास्थ्य परीक्षण गरेर जिल्लामा आउन दिने निर्णय गरेको हो ।

यसअघि गत चैत ९ गतेसम्म गड्डाचौकी नाकाबाट भारतका विभिन्न शहरबाट करिब ७० हजार नागरिक भित्रिएका थिए ।

नेपाल–भारत सीमा सिल गर्नुका साथै लकडाउन थालिएयता यहाँको दोधारा चाँदनी, ब्रह्मदेव, बेलौरी र पुर्नवासलगायतका क्षेत्रमा लुकीछिपी आउने क्रम रोकिएको छैन । “दशगजामा आएर नेपाली अलपत्र पर्न थालेपछि व्यवस्थित तवरले उद्धार गरी ल्याउन गड्डाचौकी नाकाबाट आउन लिने निर्णय गरिएको हो”, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले भने , “गड्डाचौकीमा स्वास्थ्य जाँचदेखि आवागमन व्यवस्थित बनाउन तयारी गरिएको छ ।”

बिहानैदेखि सेना र स्वास्थ्यकर्मीको चिकित्सकसहितको टोलीले स्वास्थ्य जाँच गर्नुका साथै सशस्त्र र नेपाल प्रहरीले लाइन व्यवस्थापनलगायतमा खटिने तयारी प्रशासनले गरेको जनाएको छ । भारतमा यातायात सुचारु भएसँगै यहाँका नाकामा नेपाली अलपत्र पर्ने क्रम केही दिनयता बढ्दै गएको छ ।

त्यसैगरी जिल्लामा कोरोना भाइरसको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि औषधोपचारबाहेकका सबै सेवा बन्द गर्ने निर्णयसमेत गरेको छ । औषधोपचारबाहेक तकारी बजार, फलफूल, खाद्यान्न पसल र बैंकलगायत सम्पूर्ण व्यापार व्यवसाय अर्को व्यवस्था नभएसम्मका लागि पूर्णरूपमा बन्द गरिएको प्रशासनद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।रासस

प्रकाशित मिति : जेष्ठ १२, २०७७ सोमबार  २ : २६ बजे