भैरहवाको भीम अस्पतालबाट २५ जना कोरोना जितेर फर्किए



रुपन्देहीको भैरहवास्थित भीम अस्पतालबाट २५ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।

डिस्चार्ज हुनेहरुमा ४ वर्ष र १० वर्षकी बालिका सहित २२ जना पुरुष र तीनजना महिला छन् ।

कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका २५ जना सबैले कोरोनालाई जितेका हुन् ।

२५ जना मध्ये रुपन्देहीको गैडहवा गाउँपालिकाका एकै परिवारका तीन महिलासहित १० जना, लुम्बिनी सांस्कृतिक नगरपालिकाका ५ जना, सिद्धार्थ नगरपालिकाका एकजना छन् ।

यस्तै कपिलवस्तु नगरपालिका कपिलवस्तुका ४ जना, कपिलवस्तुकै विजयनगर गाउँपालिकाका एकजना, भारतीय नागरिक एकजना, नवलपरासी पश्चिमको प्रतापपुर गाउपालिकाका एकजना र सुस्ता गाउपालिकाका दुई जना रहेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा . नवीन दर्नालले बताए ।

प्रकाशित मिति : जेष्ठ १९, २०७७ सोमबार  ६ : ३२ बजे