भोलिबाट भारी वर्षा, सतर्क रहन मौसम विभागले गर्‍यो आग्रह



भोलिदेखि देशका अधिकांश भूभागमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

असार २६ गते अर्थात् शुक्रबारदेखि देशभर ठूलो वर्षा तथा बाढीको सम्भावना रहेकाले त्यसबाट बच्न अहिलेदेखि नै तयारी थाल्न मौसमविद्ले सबैमा आग्रह गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार शुक्रबार मनसुनको न्यून चापीय रेखा नेपालनजिकै आइपुग्ने भएकाले देशभर ठूलो वर्षाको सम्भावना देखिएको हो।

 

यस्तै बाढी पूर्वानुमान महाशाखाले यही असार २६ देखि २९ गतेसम्म देशैभरका ठूला, मझौला र साना नदीमा ठूलो बाढीको सम्भावना रहेको जानकारी दिएको छ।

सुदूरपश्चिम प्रदेश, प्रदेश पाँच, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । राति देशका अधिकांश भूभागमा सामान्य बदली भइ प्रदेश पाँच, गण्डकी प्रदेश, वागमती प्रदेश, प्रदेश २ र १ का धेरैजसो स्थानहरुमा वर्षाको सम्भावना छ ।

यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । बिहीबार पनि देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ । शुक्रबार पनि मेघ जर्गनसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : असार २४, २०७७ बुधबार  ५ : १९ बजे