बुधबारसम्म व्यापक बर्षा : नदीमा बाढीको खतरा, सतर्क रहन आग्रह



बुधबारसम्म काठमाडौं उपत्यका आसपासका क्षेत्रहरूमा अत्यधिक वर्षा हुन सक्ने अनुमानसहित सर्तकता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।आईतबारदेखि बुधबारसम्म अत्यधिक वर्षा हुने अनुमानसहित विभागले अत्यधिक वर्षासँगै राम्रो निकासको अभाव रहेका ठाँउमा पानीको निकास नहुँदा डुबानको समस्या देखिन सक्ने बताउँदै सर्तक रहन आग्रह गरेको छ ।

मंगलबार प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका घेरै स्थानहरुमा साथै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा समेत भारी वर्षाको समेत सम्भावना रहेको जनाउँदै महाशाखाले बाढी तथा पहिरोको जोखिमबाट बच्न समेत आग्रह गरेको छ ।

यसै बिच नेपाल बाढी सूचना केन्द्रले अविरल वर्षाका कारण नेपालका मुख्य र तिनका सहायक नदीमा बहाव खतराको सूचकमाथि जाने भएकाले सतर्क हुन भनेको छ।सूचनामा नारायणी र सोका सहायक नदीमा बहाव खतराको संकेतभन्दा माथि हुने जनाइएको छ।साथै कनकाई, कमला, बागमती तिनाउ, पूर्वि राप्तीमा नदीको स्तर खतराको बिन्दु आसपास हुने भएकाले तटिय क्षेत्रका वासिन्दालाई सतर्क रहन भनेको छ।

त्यस्तै आजरात देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा जारी रहने छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा साथै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना झनै बढ्दै गएको छ ।यो क्रम बुधबारसम्म निरन्तर रुपमा चल्ने महाशाखाको भनाई छ ।

व्यापक बर्षाका कारण नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।

प्रकाशित मिति : श्रावण ६, २०७७ मंगलबार  ४ : ३१ बजे