दुई ठूला नदीमा पाँच जनाको शव भेटियो



चितवन । चितवनमा रहेका दुई ठूला नदीमा पाँच जनाको शव फेला परेका छन् । प्रहरीका अनुसार बुधबार नारायणीमा चार र राप्ती नदीमा एक जनाको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार वर्षा रोकिएर नदीको बहाव घटेसँगै बग्दै गरेको र किनारमा तैरिएको अवस्थामा शव भेटिएका हुन् । भरतपुर महानगरपालिका–१ ठिमुरामा दुई जनाको शव सडेको अवस्थामा फेला परेका छन् । ती मध्ये एक जना अन्दाजी १५ वर्षीया किशोरी र अर्का ५५ वर्षीय एक पुरुष रहेको थापाले जानकारी दिनुभयो ।

त्यस्तै मङ्गलबारदेखि बेपत्ता भएका भरतपुर महानगरपालिका–१६ बस्ने वर्ष ४० का सानो कान्छा भन्ने कर्णबहादुर सुनारको शव फेला परेको छ । उनको वडा नम्बर १६ कै झनझने भन्ने ठाउँमा शव भेटिएको हो । भरतपुरकै वडा नम्बर १ गैँडाचोकस्थित नारायणी किनारमा अन्दाजी ५० वर्षीया एक महिलाको शव फेला परेको छ । त्यस्तै पूर्वीचितवनको खैरहनी नगरपालिको बूढी राप्ती खोलामा बगाएर ल्याएको अन्दाजी ५० वर्षीय पुरुषको शव भेटिएको उहाँले जानकारी दिनुभयो । बग्दै गरेको शव देखिएपछि स्थानीय र प्रहरीले नदी बाहिर निकालेका थिए । एक जनाबाहेक अन्यको सनाखत हुन सकेको छैन ।

विभिन्न ठाउँमा बगाएको वा पुरेको ठाउँबाट बाढीले शव बाहिर ल्याएको हुनसक्ने अनुमान गरिएको छ । शवको मुजुल्का गरेर परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

प्रकाशित मिति : श्रावण ८, २०७७ बिहिबार  २ : ४६ बजे