वीरगञ्जमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज–६ माईस्थान बस्ने ७० वर्षीय श्याम नारायण वर्णवालको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।
श्वासप्रश्वासको समस्यापछी सोमबार एडभान्स अस्पतालमा भर्ना भएका वर्णवाललाई सोमबार नै शंकास्पद कोरोना संक्रमितको रुपमा नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो । दिउँसो एक बजेतिर गण्डकमा भर्ना भएका उनको मंगलबार अपरान्ह मृत्यु भएको गण्डक कोभिड अस्पतालले जनाएको छ ।
मृत्युपछि उनको स्वाब संकलन गरिएको थियो । नारायणी अस्पतालको पीसीआर ल्याबमा जाँच गर्दा बुधबार कोरोना पोजेटिभ देखिएको थियो । उनको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएको गण्डक अस्थायी कोभिड अस्पतालका कोअर्डिनेटर डाक्टर उदयनारायण सिंहले जानकारी दिए ।








