बाँकेमा आपराधिक घटनामा संलग्न फरार प्रतिवादी धमाधम पक्राउ पर्न थालेका छन् । पछिल्लो एक महिनाभित्र जघन्य आपराधिक मुद्दामा फरारसहित लागुऔषध कारोवारमा संलग्न छ जनालाई पक्राउ गरी मुद्दा चलाइएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो ।
बाँके वनकट्टीका करिब दर्जन आपराधिक गतिविधिमा संलग्न राजेश यादव, लागुऔषधका कारोवारी, शरीर बन्धक, अपहरण र जबर्जस्ती करणीका अभियुक्त बाँके वनकट्टीकै बब्बरी खाँ पठान, लागुऔषधको कारोवारी नेपालगञ्ज जयसपुरका रेश्मा खान र भगेलु कलवारलाई बाँके प्रहरीले पक्राउ गरेको जनाएको छ ।
यसैगरी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भई गत वैशाख ९ गतेदेखि फरार भएका चार प्रतिवादीमध्ये दुई जनालाई बाँके प्रहरीले बिहीबार पक्राउ गरेको जनाएको छ । कोहलपुरको पिपिसी इँटाभट्टा उद्योगमा काम गर्दै आएका सोनु शेखलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरी फरार भएका खजुरा गाउँपालिका–७ गुनाना बस्ने १९ वर्षीय समिर भाट र २९ वर्षीय कलिम भाट पक्राउ परेका हुन् ।








