मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीरगञ्जका एक वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको आशङ्का



वीरगञ्ज महानगरपालिका– १० आदर्शनगरमा रहेका एक ६५ वर्षीय वृद्धको आज बिहान कोरोना सङ्क्रमणबाट मृत्यु भएको आशङ्का गरिएको छ । ती वृद्धको गण्डक अस्थायी कोभिड अस्पतालमा आज बिहान मृत्यु भएको डा नीरजकुमार सिंहले राससलाई बताए ।

मृत्यु भएका ती वृद्धको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरी उपचार थालिएको र पछि थप उपचारका लागि वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो । शनिबार राति ८ः०० बजे आरडिटी पोजेटिभ आएपछि कोरोनाको शङ्कास्पद बिरामीका रुपमा गण्डक अस्थायी कोभिड अस्पतालमा लगी उपचार शुरु गरिएको अर्का डा उदयनारायण सिंहले बताए ।

शनिबार नै नारायणी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका ती वृद्धको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिसकिएको थियो । हालसम्म रिपोर्ट आएको छैन । मृत्यु भएका ती वृद्ध आदर्शनगरका व्यापारी रहेका र मुटु तथा मधुमेह रोगका बिरामी रहेको उपचारमा संलग्न चिकित्सक डा नीरजकुमार सिंहले बताए । मृत्यु भएका वृद्ध भारतीय नागरिक हुन् । वृद्धको शवलाई अस्पतालमामै राखिएको छ । साँझसम्म पिसिआर परीक्षणको रिपोर्ट आइसक्ने चिकित्सकले जनाएका छन् ।

यसअघि गत शुक्रबार आरडिटी पोजेटिभ भएकी एक १७ वर्षीय युवतीको मृत्यु भएको थियो । युवतीको मरणोपरान्त पिसिआर परीक्षण गर्दा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको थियो । यसैबीच नारायणी अस्पतालअन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचार गराइरहेका कोरोना सङ्क्रमितमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । चारै जनालाई सघन उपचार कक्षमा अक्सिजन दिएर राखिएको भए पनि अवस्था जटिल र गम्भीर रहेको डा सिंहले जानकारी दिए।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  १० : ०८ बजे