बझाङको बुङगलमा पहिरो जाँदा २ बेपत्ता, ४ घाइते



बझाङ । लगातारको वर्षासँगै आएको पहिरोले घर बगाउँदा बझाङमा ४ जना घाइते भएका छन् भने २ जना बेपत्ता भएका छन् । जिल्लाको बुङ्गल नगरपालिका वडा नम्बर ५ मिडीमा मंगलबार राति १:१५ बजेतिर घरमाथिबाट आएको पहिरोले स्थानीय प्रताप ताम्राकारको घर बगाएको हो ।

जिल्ला प्रहरीका कार्यालय बझाङका अनुसार नेपाल प्रहरी र स्थानीयको सहयोगमा पहिरोमा पुरिएका ४ जनाको उद्धार गरिएको छ भने दुई जना बेपत्ता छन् ।

प्रताप ताम्राकार रोजगारीको सिलसिलामा भारतमा रहेपनि पहिरोमा परेर प्रतापकी श्रीमती ४० वर्षीया पिपला ताम्राकार, १८ वर्षीया छोरी सुनिता र १२ वर्षीया छोरी टिन्टी ताम्राकार र १६ वर्षीय छोरा अनिल ताम्राकार घाइते भएका छन । घाइते चारै जनाको खिरातडी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

पहिरोमा परि १४ वर्षीय छोरा सचिन ताम्राकार र बुङ्गल नगरपालिका वडा नम्बर ४ तिर्थबगर बस्ने दमन ओखेडाका ५ वर्षीय सुदीप ओखेडा बेपत्ता भएका छन् ।

दुवै जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी गणेश बमले बताएका छन। पहिरोका कारण १५ घर उच्च जोखिममा रहेको स्थानीय सुरेश कुँवरले जानकारी दिएका छन।

प्रकाशित मिति : भदौ ३, २०७७ बुधबार  ३ : ०६ बजे