मनसुन अझै केही दिन रहने, पानी पर्ने क्रम कम हुँदै जाने



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मनसुन अझै केही दिन रहने उल्लेख गरेको छ । मौसमविद् वरुण पौडेलका अनुसार पानी पर्ने क्रम कम हुँदै जाने सम्भावना रहेको छ।

नेपालबाट मनसुन बाहिरिने औसत मिति यही सेप्टेम्बर २७ अर्थात् बुधबार थियो। तर झन् केही दिनयता देशभरजसो भारी वर्षा भएको छ।

‘कहिलेकाहीं यस्तै हुन्छ,’ मौसमविद् पौडेलले भने, ‘यसलाई मनसुनको उतारचढाव भनिन्छ, कुनै वर्ष मनसुन भित्रिने सुरुकै समयमा वर्षा बढी हुन्छ, कहिले बीचमा त कहिले अन्तिम समयमा।’ उनका अनुसार यो कुनै अचम्मको कुरा होइन, नियमित प्रक्रिया नै हो।

पछिल्लो समय सबैभन्दा बढी वर्षा पूर्वका प्रदेशमा भएको उनले जानकारी दिए। उनका अनुसार कास्की, स्याङ्जा, विराटनगर, भैरहवालगायत स्थानमा अति भारी वर्षासमेत भएको छ।

सय मिलिमिटरभन्दा बढी वर्षा हुनुलाई अति भारी वर्षा भनिन्छ। यस्तै ५० देखि सय मिलिमिटरसम्मको वर्षालाई भारी तथा १० देखि ५० मिलमिटरसम्मको वर्षालाई मध्यम वर्षा मानिन्छ। १० मिलिमिटरसम्मको वर्षालाई हल्का वर्षा भनिन्छ।

यसबीच काठमाडौं उपत्यकामा पनि भारी वर्षा भएको छ। ७५ मिलिमिटरसम्म वर्षा भएको मौसमविद् पौडेलले जानकारी दिए।

‘तुलनात्मक रूपमा सुदूरपश्चिममा पानी कम परेको छ,’ उनले भने।

उनका अनुसार पानी पर्ने क्रम आजदेखि नै कम हुने सम्भावना छ। ‘सुदूरपश्चिममा त आज घाम लाग्ने सम्भावना छ,’ मौसमविद् पौडेलले भने।

तर अन्य प्रदेशमा आज दिउँसो र राति वर्षाको सम्भावना छ। कतिपय स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

उनका अनुसार अहिले बिहान पनि प्रदेश १, २, गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

प्रकाशित मिति : आश्विन ९, २०७७ शुक्रबार  २ : ३२ बजे