बडादशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदैछ ।
कुष्माण्डा देवीलाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।
कुष्माण्डा देवीको पूजा गरेमा ज्ञान र बुद्धि प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ ।
साथै कुनैपनि प्रकारका वाणीमा दोष छ भने मालपुवा अर्पण गरी पूजा गरेमा र मालपूवा दान गरेमा शुभ हुने धार्मिक विश्वास छ ।
यी देवीमा तातो रक्तसमूह भएका मानव, चराचरुङ्गी तथा चिसो रगत भएका माछा, सर्प लगायतका सारा प्राणीको सिर्जना गर्ने शक्ति रहेको शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ ।
देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्यलाई आफ्नो तापशक्ति दिएर प्रज्ज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका ग्रन्थहरुमा उल्लेख छ ।
घटस्थापनाको दिनदेखि नवरात्रसम्म दूर्गादेवीका नौं रुपको पूजा गरिन्छ । दशै भरीनै देशभरिका शक्तिपिठहरुमा दर्शनार्थिहरुको घुइचो लाग्ने भए पनि यसपटक कोरोना सङ्क्रमणका कारणले प्राय देबी मन्दिर र शक्तिपिठहरुमा पुजारिहरुले मात्रै नित्यपुजा गरिरहेका छन ।








