मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शितलहर छल्न आगो बाल्ने दाउरा वितरण



विगत १० दिनदेखि निरन्तररुपमा चलेको चिसो हावा र शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि नेपाली सेनाले आज बिहानै महोत्तरीको सदरमुकाम जलेश्वरका विभिन्न स्थानमा दाउरा उपलब्ध गराएर न्यानोको लागि आगो बालेको छ । जलेश्वरमा अवस्थित नेपाली सेनाको रणभीम गणले जलेश्वर नपाको वडा नं १, २ र ६ का विभिन्न चोक र टोल बस्तीमा सर्वसाधारणलाई न्यानो बाँड्ने उद्देश्यले आगो बालेको गणपति शिवहरि केसीले बताउनुभयो ।

नेपाली सेनाले जलेश्वरको नगरपालिका चोक, शङ्करचोक, दुर्गाचोक, खैराचोक, बुद्धिजीवि चोक, अस्पताल चोक, जिरोमाइल चोक, डोमटोल, दुषाध टोल, मुसहर टोललगायतका ठाउँमा आगो बालेर जलेश्वर नगरपालिकाका आम नागरिकलाई जाडोबाट जोगाउने काम गरेको छ । जिल्लाभरि नै जाडोले जनजीवन प्रभावित भइरहेका बेला नेपाली सेनाले सदरमुकाममा दाउराको व्यवस्था गरी ठाउँठाउँमा आगो बालेपछि स्थानीयले राहत महसुस गरेका छन् ।

आगलागीमा रु १० लाख क्षति

महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा गएराति भएको आगलागीमा १० लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीका अनुसार जलेश्वर नगरपालिका– ३ बस्ने लगन राय र मटिहानी नगरपालिका– २ बस्ने जकी शेषको घरमा भएको आगलागीमा रु १० लाख बराबरको क्षति भएको हो ।

राति १०ः३० बजेतिर लगन रायको घरमा विद्युत् चुहिएर भएको आगलागीमा परी नगद रु एक लाख, अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, चार चौपाया र दुईकोठे घरसहित पाँच लाख ९५ हजारको क्षति भएको छ ।

मध्यरातमा जकी शेषको घरमा भएको आगलगीमा परी नगद, दुई वटा चौपाय, कुखुरा र चल्ला, साँखुको काठ, खाद्यान्न लत्ताकपडा, भाँडाकँुडा र दुई कोठे घरसहित तीन लाख ७४ हजारको क्षति भएको हो । दुवै आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको प्रहरी तथा स्थानीय, प्रहरी र जलेश्वर नगरपालिकाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

न्यानो कपडा बाँड्दै स्थानीय तह

लहान– चिसो बढ्दै गएपछि सिरहाका स्थानीय तहले सक्रियता बढाएको छ । शीतलहर र चिसोका कारण जनजीवन प्रभावित हुन थालेपछि स्थानीय तहले न्यानो लुगा तथा आगो बाल्न दाउरा वितरणको कार्यलाई तीव्रता दिएको छ ।

सिरहाको विष्णुपुर गाउँपालिकाले विभिन्न स्थानमा आगो बाल्न आज बिहानैदेखि दाउरा वितरण कार्य शुरु गरेको छ । चिसो र शीतलहरका कारण विपन्न तथा गरिब परिवार समस्यामा परेपछि सामूहिकरुपमा आगो बाल्न चोक तथा बस्तीमा दाउरा वितरण शुरु गरेको गाउँपालिकाका अध्यक्ष जागेश्वर यादवले जानकारी दिनुभयो । पहिलो चरणमा जाडो छल्न दाउरा वितरण गरेको र केही दिनपछि न्यानो कपडा वितरणसमेत गरिने उहाँले बताउनुभयो ।

यस्तै सिराहा नगरपालिकाले वडा नं १७ खैरटोलका विपन्न तथा दलित परिवारलाई कम्बल र त्रिपाल वितरण गरेको छ । बस्तीमै पुगेर नगरपालिकाका प्रमुख अशेश्वर यादवले १५ परिवारलाई कम्बल र त्रिपाल वितरण गर्नुभयो ।

चिसोबाट जोगिन तत्काललाई दुई थान कम्बल र एक थान त्रिपालका दरले दलित विपन्न परिवारलाई वितरण गरेको नगरप्रमुख यादवले बताउनुभयो । यस्तै नगरपालिकाको विभिन्न वडामा आगो बाल्न दाउरासमेत वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

चिसो प्रभावित भएका सिराहाको सुखीपुर नगरपालिका– ८ र गोलबजार नगरपालिका–१३ का १५० परिवारलाई स्वदेश लघुबित्त वित्तिय संस्था सुखीपुरले न्यानो कपडा वितरण गरेको थियो । सुखीपुर नगरपालिका– ८ अस्पताल चोकका १३० र गोलबजार नगरपालिका– १३ का २० परिवारलाई चिसोबाट जोगिन न्यानो लुगा वितरण गरेको जनाइएको छ । केही दिनयता बढेको अत्यधिक चिसोका कारण विगत एक साताको अवधिमा सिरहामा पाँच जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ७ : ०५ बजे