मध्यपुरथिमि नगरपालिकाले तत्काल आफ्नो नगर क्षेत्रका विद्यालय सञ्चाल गर्न अनुमति नदिने भएको छ । कोभिड–१९ को महामारीका कारण गत चैतदेखि विद्यालय बन्द छन् । विभिन्न नगरपालिकाले भौतिकरुपमा नै विद्यालय सञ्चालनमा ल्याए पनि मध्यपुरथिमिले भने कोरोना भाइरस सङ्क्रमणको जोखिम उच्च रहेको जनाउँदै तत्काल विद्यालय सञ्चालनमा नल्याउने भएको हो ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल मध्यपुरथिमि नगर कार्यसमितिले आज यहाँ आयोजना गरेको बधाई, शुभकामना तथा अन्तक्र्रिया कार्यक्रममा नगर प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोना भाइरसको उच्च जोखिम रहेको अहिलेकै अवस्थामा नगरपालिकाले विद्यालय सञ्चालन गर्न अनुमति नदिने जानकारी दिनुभयो ।
“अहिले भर्चुअल माध्यमबाट विद्यालय सञ्चालन भइरहेका छन्, परीक्षा सञ्चालन भइरहेका छन्”, उहाँले भन्नुभयो, “यसैगरी भर्चुअल कक्षा सञ्चालन गरौँ, यसलाई पनि प्रभावकारी ढङ्गले लान सके उपलब्धि हासिल गर्न सकिन्छ भन्ने अनुभव प्राप्त भइसक्यो, अर्को निर्णय नभएसम्म यसैगरी पढाइ गराऔँ ।”
कार्यक्रममा सहभागी विद्यालय सञ्चालकले भने अन्य जिल्ला र नगरपालिकाले भौतिकरुपमा नै विद्यालय सञ्चालन गर्न शुरु गरेकाले मध्यपुरथिमिले पनि सञ्चालन गर्न रोक्न नहुने जिकिर गर्नुभएको थियो । सहभागीले भर्चुअल कक्षामा सबै विद्यार्थीलाई समावेश गर्न नसकिएको जनाउँदै स्वास्थ्य मापदण्ड पालना गरी सुरक्षाका उपाय अवलम्बन गरेर भौतिकरुपमा कक्षा सञ्चालन गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा प्याब्सन केन्द्रीय कार्यसमितिका उपाध्यक्ष दीपिका थापा, प्याब्सन केन्द्रीय कार्यसमितिका सहकोषाध्यक्ष गणेशबाबु पोखरेल, प्याब्सन भक्तपुरका अध्यक्ष चन्द्रकुमार अधिकारी, हिसान केन्द्रीय कार्यसमितिका सदस्य वीरेन्द्र जयनालगायतले शिक्षा क्षेत्रमा आएको समस्या र चुनौतीका बारेमा चर्चा गर्नुभएको थियो । मध्यपुर प्याब्सन कार्यसमितिका अध्यक्ष निलेश आचार्यले कोरोना भाइरसको महामारीका बीच शिक्षा क्षेत्र निकै चपेटामा परेको जनाउँदै सरकारले शुरुमै विद्यालय सञ्चालन नीति नबनाउँदा समग्र शिक्षा क्षेत्र नै धराशायी बनेको बताउनुभयो ।








