मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सालकसहितको मोटरसाइकल नियन्त्रणमा



सिरहा जिल्लाको गोलबजारस्थित सशस्त्र प्रहरी बेसक्याम्पले संसारकै दुर्लभ मानिने अति सङ्कटापन्न स्तनधारी जन्तु सालकसहित मोटरसाइल नियन्त्रणमा लिएको छ । गोलबजार नगरपालिका–२ लालपुर फतिङ्गग्रा डाँडाबाट सालक र एउटा मोटरसाइकल नियन्त्रणमा लिएको जनाइएको छ ।

बेसक्याम्पका प्रमुख दीपक कोइरालाका अनुसार सो डाँडाबाट तस्करी हुँदै छ भन्ने सूचना पाउनासाथ क्याम्पबाट खटिएको टोलीलाई देख्नबित्तिकै स१०प ३३३० नंको मोटरसाइकलमा सवार व्यक्ति भागेका थिए । तस्करीमा संलग्न व्यक्तिको मोटरसाइकल बरामद भएकाले सवारीधनीका आधारमा स्थानीय प्रहरी, यातायात र वन डिभिजन कार्यालयसँग समन्वय गरी खोजी गरिने उहाँले बताउनुभयो ।

सालक संसारको सबैभन्दा बढी तस्करी हुने स्तनधारी जनावर मानिन्छ । एक तथ्याङ्कअनुसार विश्वमा औसत पाँच मिनेटमा एक सालकको हत्या हुने गर्दछ । सालकको खपटा चिनी रोगको औषधि, फिङ्गरपिन्टको केमिकल र मासु चिनियाँ परम्परागत औषधि बनाउन प्रयोग हुने र अन्तर्राष्ट्रिय बजारमा अत्यधिक माग हुने भएकाले यसको बढी तस्करी हुने गरेको बताइन्छ ।

बालीनालीको पहरेदार मानिने सालकले वर्षमा सात करोड कमिला र कीराफट्याङ्ग्रा खान सक्छ । वन्यजन्तुको अवैध व्यापारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिले सालकको व्यापारलाई अपराध मानेको छ भने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐनमा दुर्लभ तथा सुरक्षित वन्यजन्तुको ओखटोपहार राख्ने, खरीद गर्ने, बिक्री गर्ने वा ओसारपसार गर्ने व्यक्तिलाई रु पाँच लाखसम्म जरिवाना वा ५ देखि १५ वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  १ : २३ बजे