वायु प्रदूषण बढेको भन्दै केही दिन मर्निङ वाक नगर्न स्वास्थ्य मन्त्रालयले गर्‍यो आग्रह



वायु प्रदूषण बढेको भन्दै स्वास्थ्य मन्त्रालयले केहि दिन मर्निङ वाक नगर्न आग्रह गरेको छ ।मन्त्रालयका सहप्रवक्ता डा . समीरकुमार अधिकारीले एक अपिल जारी गर्दै यस्तो आग्रह गरेका छन् ।मौसममा केहीदिनदेखि आएको परिवर्तनका कारण वायु प्रदूषण बढेको बताइएको छ ।

मन्त्रालयले गरेको अपिल

१–मर्निङवाकमा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने केही दिनका लागि रोकौँ ।

२–फोहोरहरुको उचित व्यवस्थापन गरौँ तर फोहोर जलाउने काम नगरौँ, नगराऔँ । कसैले फोहोर जलाउने काम गर्ने गरेको छ भने त्यसलाई निरुत्साहित गरौँ र बन्द गर्न लगाऔँ ।

३–घर बाहिर ननिस्कौँ । निस्कनै पर्ने अवस्था भएमा मास्कको अनिवार्य प्रयोग गरौँ र कोभिड १९ का लागि तोकिएका जनस्वास्थ्यका मापदण्डहरु पालना गरौँ, गराऔँ ।

४–धुलो धुवाँ उड्ने खालका पेसा, व्यवसाय, निर्माण कार्यहरु केही दिनलाई स्थगन गरौँ, गराऔँ । केही दिनपछि त्यस किसिमका पेसा, व्यवसाय, निर्माण कार्यहरु सुचारु गर्दा धूलो धुवाँ नउड्ने वा कम हुने व्यवस्थाहरु गरौँ, गराऔँ ।

५–अत्यावश्यक नभई सवारी साधनहरु नचलाऔँ ।

प्रकाशित मिति : पुस २२, २०७७ बुधबार  ३ : २४ बजे