कैलालीमा शीतलहर बढ्न थालेपछि टीकापुर–७ स्थित सत्ती कर्णाली सामुदायिक वनले ज्येष्ठ नागरिकलाई निःशुल्क दाउरा वितरण गर्न शुरुआत गरेको छ ।सामुदायिक वन समितिले सोमबारबाट ७५ वर्षदेखि माथिका ११२ घरपरिवारका ज्येष्ठ नागरिकलाई दाउरा वितरण गर्न लागको हो । प्रतिव्यक्ति दुई क्वीन्टलका दरले दाउरा उपलब्ध गराउन लागेको छ ।
शीतलहरमा ज्येष्ठ नागरिकलाई सहज होस् भनेर दाउरा वितरण गरेको वनका अध्यक्ष धनसिंह साउदले बताउनुभयो । ‘‘७५ वर्षदेखि माथिका ज्येष्ठ सदस्यहरुको सम्मान पनि हुने र चिसोबाट बचाउन घरपरिवारलाई पनि सजिलो हुने भएकाले निशुल्क दाउरा वितरण गर्ने कार्यक्रम ल्याएका हौँ’’, उहाँले भन्नुभयो, ‘‘अघिल्लो वर्ष चोकचोकमा दाउरा वितरण गरेका थियौँ र यस वर्ष पनि चोकचोकमा दाउरा उपलब्ध गराउदैछौँ । साथै ज्येष्ठ नागरिकको घरमै दाउरा पु¥याउन थालेका छौँ ।’’
दाउरा घरमै पाएपछि ज्येष्ठ नागरिक खुशी भएका छन् । ज्येष्ठ नागरिक गम्भीर सिंहले सामुदायिक वनले समस्या बुझेको बताउनुभयो । ‘‘चिसो बढेको छ । यो समयमा वनले घरमै दाउरा ल्याइदियो’’, उहाँले भन्नुभयो, ‘‘अब आगो तापेर बस्न पाइने भयो ।’’
एक हजार ४०० उपभोक्ता रहेको सो सामुदायिक वनले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । विसं २०४८ मा स्थानीयले संरक्षण शुरु गरेपछि सामुदायिक वन विसं २०५१ मा दर्ता भएको हो । सत्ती वन ३०० हेक्टर क्षेत्रफलमा फैलिएको छ । हाल सत्ती वनसँग जोडिएका अन्य तीन वटा प्रस्तावित वन पनि संरक्षण गर्न नसकेर समायोजन भएका छन् ।








