क्यान्सरपीडितले पाउने भए रु. एक लाखसम्मको उपचार सेवा निःशुल्क



विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा विपन्न परिवारका क्यान्सरपीडितले रु एक लाखसम्मको उपचार सेवा निःशुल्क पाउने भएका छन् ।नेपाल सरकार स्वास्थ्य सेवा विभागको विपन्न नागरिक औषधोपचार कोष कार्यक्रमअन्तर्गत अस्पतालले सो सेवा सञ्चालन गरेकोे जनाएको छ । अस्पतालले गत पुस २१ गते नेपाल सरकारसँग गरेको सम्झौताका आधारमा यही माघ १ गतेदेखि यो सेवा सञ्चालन गरेको अस्पतालका जनसम्पर्क अधिकृत प्रोमिश गिरीले जानकारी दिनुभयो । विपन्न परिवारका बिरामीले खर्च अभावमा उपचारबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ नेपाल सरकारसँग सम्झौता गरी विपन्न नागरिक औषधोपचार कोषमार्फत सो सेवा सञ्चालनमा ल्याएको उहाँको भनाइ छ ।

सम्बन्धित स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य प्रमुखले हस्ताक्षर गरेको विपन्नताको सिफारिसका आधारमा सेवा उपलब्ध हुने पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा वीरेन्द्र यादवले जानकारी दिनुभयो । मुलुककै अत्याधुनिक सुविधासम्पन्न पूर्वाञ्चल क्यान्सर अस्पताल विर्तामोडले सरकारी बीमाजस्तै विपन्न नागरिक उपचार कोषमार्फत रु एक लाखसम्मको उपचार सेवा सञ्चालनमा ल्याएको बताइएको छ ।

नेपाल सरकारले यसअघि चितवनको बिपी कोइराला क्यान्सर अस्पतालमार्फत रु एक लाखको उपचारमा सहयोग दिँदै आएको थियो । अब यो सरकारी सहयोग पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गर्दा पनि प्राप्त हुने भएको छ । हालसम्म अस्पतालबाट १४० बिरामीले यो सुविधाका लागि सिफारिस लिइसकेको बताइएको छ । त्यस्तै २७ हजार ८०० बिरामीले ओपिडीमार्फत सेवा लिइसकेको अस्पतालका मेडिकल डाइरेक्टर एवं क्यान्सर रोग विशेषज्ञ डा यादवले जानकारी दिनुभयो । उहाँका अनुसार क्यान्सर अस्पतालले यो सेवा शुरु गरेयता ३०० जनाको सर्जरी भइसकेको छ ।

अत्याधुनिक सुविधासम्पन्न यो अस्पतालमा राम्रो उपकरण र सुविधा भए पनि बिरामी रु एक लाख सहयोग पाउने आशाले भरतपुर धाउने गरेको बताउँदै उहाँले अब त्यो सुुविधा यहाँकै अस्पतालमा पाउने भएपछि बिरामीको चाप बढ्न थालिसकेको जानकारी दिनुभयो । क्यान्सरका बिरामीलाई आवश्यक पर्ने सबै उपचारमा विपन्न नागरिक औषधोपचार कोषको सुविधा लागू हुने बताइएको छ । यो सुविधा पाउनका लागि बिरामीलाई क्यान्सर लागेको पुष्टि हुने बायोप्सी रिपोर्ट अनिवार्य गरिएको छ ।

बिरामीले सर्वप्रथम अस्पतालमा क्यान्सरको डाइग्नोसिस गराएको हुनुपर्ने र त्यही कागजको आधारमा आफ्नो स्थानीय तहमा गएर विपन्नताको सिफारिस ल्याउनुपर्ने बताइएको छ ।

प्रकाशित मिति : माघ १६, २०७७ शुक्रबार  ४ : २५ बजे