नेपाली सेनाले सिरहाको नरहा गाउँपालिकामा शनिबार सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ९६१ जना स्थानीयवासी लाभान्वित भएका छन् ।महाशिवरात्रि एवं सेना दिवसका अवसरमा जनता वनवाली उच्च माध्यामिक विद्यालय बर्छवामा सञ्चालन गरिएको शिविरबाट ५८२ महिला र ३७९ पुरुषले स्वास्थ्य उपचार सेवा लिएका हुन् । सेनाको २७ बाहिनी र बहादुर शेर गण २७ नं फिल्ड गुल्म आयोजक रहेको शिविरमा ३८ को इसिजी, ४४ को अल्ट्रासाउण्ड र ९२ जनाको मधुमेह ९सुगर० परीक्षण गरिएको सेनाले जानकारी दिएको छ ।
गाउँपालिकाको सहकार्यमा सञ्चालन भएको शिविरमा जिल्ला स्वास्थ्य कार्यालय, जनता वनवाली उच्च माध्यामिक विद्यालय, सगरमाथा आँखा अस्पताल र जानकी मेडिकल कलेज धनुषाले सहयोग पु¥याएका थिए । शिविरमा ४१२ जनाको विस्तृत स्वास्थ्य परीक्षण, १८६ जनालाई बालरोग र ८८ लाई स्त्रीरोग तथा ४० जनालाई इएनटीसेवा उपलब्ध गराइएको सेनाले जानकारी दिएको छ । शिविरमा १०५ जनाको आँखा परीक्षण र ३२ बिरामीको सर्जरी तथा ९८ इन्टरनल मेडिसिन गरिएको बाहिनी अड्डाले जनाएको छ ।
प्रधानसेनापति कमाण्ड मार्ग निर्देशनमा उल्लेखित नागरिक र सेनाबीचको सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त शिविरको बाहिनीपति हेमराज केसीले शुभारम्भ गर्नुभएको थियो । मध्यपूर्वी पृतनापति सुरेशकुमार कार्कीले स्वास्थ्य परीक्षण गर्न आएका स्थानीयवासीसँग अन्तरक्रिया गर्नुभएको उक्त शिविरबाट उपलब्ध गराइएको गुणस्तरीय सेवाको गाउँपालिका अध्यक्ष रामशरण यादव, प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेललगायतले खुलेर प्रशंसा गर्नुभयो ।
जिल्ला अस्पताल सिरहाका दुई, जानकी मेडिकल कलेजका छ, सगरमाथा आँखा अस्पातलका एक, स्थानीय एक र गुल्मका एक विशेषज्ञ चिकित्सकसहित १६ स्वास्थ्यकर्मीको टोलीले शिविरमा सेवा पु¥याएको थियो । शिविरमार्फत स्थानीयवासीलाई रु पाँच लाख बराबरको औषधि वितरण गरिएको सेनाले जानकारी दिएको छ ।










